इटहरीः प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ ले प्रदेशका जिल्ला, पालिका र वडाहरुमा सेल्फ डिफेन्स तालिम सञ्चालन गरी महिला र किशोरीलाई आत्मरक्षाको लागि तयार बनाउने योजना अघि सारेको छ ।

बोर्डको आयोजना तथा नेपाल सेल्फ डिफेन्स संघको संयोजनमा विराटनगरमा तीन दिने सेल्फ डिफेन्स तालिमको आयोजना गरी बोर्डले प्रशिक्षकसमेत तयार गरिसकेको छ । प्रदेशका १४ वटै जिल्लाका ४७ जना सहायक प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रशिक्षकहरबाट तालिम गराइसकिएको छ । अब उनीहरुलाई जिल्लाका हरेक पालिका र वडामा खटाउने तयारी बोर्डले गरेको प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बताएका छन् ।

जिल्लाका लागि तयार गरिएका प्रशिक्षकहरुले पहिलो चरणमा जिल्ला खेलकुद विकास समितिको संयोजनमा हरेक पालिकाका २ जनाका दरले महिलालाई आत्मरक्षाको तालिम गराउने र उनीहरुले वडा र गाउँगाउँमा गएर अन्य महिला र किशोरीलाई आत्मरक्षा सिकाउनेगरी प्रदेश एकलाई नै महिला हिंसारहित प्रदेशको रुपमा स्थापित गर्ने सदस्यसचिव वाग्लेले बताए । मंगलबारबाट बिहीबारसम्म चलेको तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले सेल्फ डिफेन्स तालिम जिल्ला , पालिका र वडाहरुमा पुर्याइनुपर्ने बताए ।
महिलामाथि हुने गरेका हिंसाको अन्त्यका लागि विद्यालयको पाठ्यक्रममै सेल्फ डिफेन्सलाई राखेर व्यवस्थित हिसाबले अघि बढ्नुपर्ने मैनालीको ठहर थियो ।

sdt1

सहभागीको तर्फबाट आफ्नो अनुभव साट्दै सुनसरीकी विनिता दाहालले आफूले तीन दिनमा धेरै टेक्निकहरु सिकेको बताइन । उनले आफूले सिकेको सीपलाई समुदायस्तरमा लिएर जाने र विपन्न बस्ती तथा पछाडि परेको समुदायलाई सिकाउने पनि बताइन् । यसैगरी, पाँचथर जिल्लाबाट सेल्फ डिफेन्समा सहभागि हुन आएकी निलिमा आङ्गदेम्बेले महिलाका लागि आयोजना गरिएको सेल्फ डिफेन्स तालिम एकदमै महत्वपूर्ण भएको र तालिमले धेरै कुरा सिकाएको बताइन् । तालिममा मनोवैज्ञानिक सिकाइको अंश कम भएको बिनिताको बुझाइ थियो । सेल्फ डिफेन्स तालिम समापन कार्यक्रमकी सभापति एंव खेलकुद विकास बार्डकी उपाध्यक्ष जिना कार्कीले सकारात्मक सोचसहित अगाडि बढ्न तालिममा सहभागी महिलालाई उत्प्रेरण प्रदान गरिन् ।

sdt3

 

महिलाहरुलाई पछाडि फर्केर नहेर्न र अगाडि बढ्न कार्कीले हौसला प्रदान गरेकी थिइन् । गुनासोकर्ता (कम्प्लेनर) बनेर सफलता नपाइने बताउँदै कार्कीले आमाबाबु, श्रीमान वा साथी कसैलाई पनि कम्प्लेन नगर्न र निष्ठाका साथ अगाडि बढ्न भनेकी थिइन् । कार्यक्रममा सेल्फ डिफेन्स तालिमकी मुख्य प्रशिक्षक सञ्जु महर्जन, सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापाल, प्रशिक्षक राधिका हमाल, खेलकुद कर्मचारी संघका रञ्जन थापा, क्षत्रीय खेलकुद विकास समितिका विमल पोखरेल, अखिल नेपाल खेलकुद संघका मीनकुमार मगर, प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बोर्डका सदस्य शैलेशकुमार बिष्टले सञ्चालन गरेको कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख चण्डिका बास्तोलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तालिममा सहभागी सम्पूर्ण महिलाहरुलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

sdt6 sdt4 sdt5