इटहरीः भलिबल प्रशिक्षक निलिमा आङदेम्बेसँग कुनै बेला आफू मानसिक हिंसामा परेको अमिलो अनुभव छ । खेल्नका लागि छनौट भएकी निलिमाले त्यही हिंसाका कारण आफूले राम्रोसँग खेल प्रस्तुत गर्न नसकेको समेत महसुस गरेकी छन् ।

प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ को आयोजनामा महिलाका लागि सञ्चालन भएको तीनदिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिममा सहभागी हुन पाँचथरबाट मोरङ्गको विराटनगर आएकी निलिमा आफू खेलाडी भएका कारण पनि आजसम्म कसैले शारीरिक हिंसा गर्ने हिम्मत नजुटाएको बताउँछिन् । तर अब कसैले नराम्रो ध्येयले छुने प्रयास गरे पनि निलिमा त्यसको कसरी प्रतिकार गर्ने भन्नेमा अभ्यस्त भएकी छिन् । ‘म आफू खेलाडी भएपनि आत्मरक्षा कसरी गर्ने भन्ने ज्ञान थिएन तर यो तालिमले आत्मबल बढाएको छ । कसैले गलत नियतले छुने प्रयास गरे त्यसको प्रतिकार गर्न सक्छु ।’ निलिमाले प्रदेश पोर्टललाई बताइन् ।

ad

सेल्फ डिफेन्स अर्थात् आत्मरक्षासम्बन्धी तालिम मार्सल आर्टस गरेकै खेलाडीलाई पनि आवश्यक रहेको मार्सल आर्टसकै तेक्वान्दो खेलाडी कामना राई बताउँछिन् । उदयपुरबाट सेल्फ डिफेन्स तालिममा सहभागी हुन विराटनगर आएकी कामना तेक्वान्दोकी प्रशिक्षक र रेफ्रिसमेत हुन् । तर यो तालिमबाट आफूले तेक्वान्दोमा भन्दा फरक आत्मरक्षाका महत्वपुर्ण टेक्निकहरु सिकेको कामनाले बताइन् । ३ दिने तालिमपश्चात् गाउँ फर्किएर घर, आफन्त, छिमेकी र पालिका स्तरमा सेल्फ डिफेन्सको तालिम दिने कामनाको योजना छ । विद्यालय स्तरमा गएर भोलेन्टियरको रुपमा किशोरीहरुलाई तालिम दिने आफ्नो योजना रहेको कामनाले सुनाइन् । त्यसो त सुनसरीको इनरुवाबाट आत्मरक्षाको तालिम लिन पुगेकी बिनिता दाहाल पनि आफूले सिकेको सीप विपन्न र पिछडिएको समुदायमा लगेर बाँड्ने योजनामा छिन् । ‘म यो तालिम लिएर समुदायमा जान्छु र विपन्न, पिछडिएको वर्ग र समुदायलाई सिकाउँछु’ बिनिताले भनिन् ।

291035689_5038012096267438_2093586180477258246_n

खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ्ग नगरपालिकाबाट विराटनगर आएकी विविना राई तालिमपूर्व शुन्यमा रहेकी आफूलाई तालिमले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने किशोरीको रुपमा परिणत गरिदिएको भनाइ राख्छिन् । स्नातक तहमा अध्ययनरत रहेकी विविना तालिमको घरपरिवारलाई तालिम दिएर यसको सदुपयोग सुरु गर्ने र समुदाय स्तरमा जाने योजनामा छिन् । प्रदेश खेलकुद विकास बोर्डले प्रदेश १ लाई नै महिला हिंसामुक्त बनाउने योजनाअनुरुप महिलाहरुलाई आत्मरक्षाको ज्ञान दिने र प्रशिक्षक तयार गरी जिल्ला र पालिकामा समेत सबै महिलालाई आत्मरक्षाको लागि दक्ष बनाउन यस्तो प्रकारको तालिमको अवधारणा ल्याएको प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले बताउँछन् ।
तीन दिनसम्म सहायक प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त नेपाल सेल्फ डिफेन्स संघका मार्सल आर्टसका खेलाडीले प्रशिक्षण दिएका थिए । तालिममा प्रदेश १ का ४७ जनाले आत्मरक्षाको ज्ञान हासिल गरेका छन् ।