इटहरीः इटहरी उपमहानगरपालिका – ५ का ४६ वर्षीय राजन लिम्बू पछिल्लो समयमा साना हतियार भित्र्याउने तयारीमा थिए । मंसिर १२ गते इटहरीको विराटनगरलाइनस्थित अस्थायी प्रहरी पोस्ट नजिक आइएमई लुटपाट गर्न सफल लिम्बूको ठूलो आपराधिक ब्याकग्राउण्ड रहेको प्रहरीको दाबी रहेको छ ।

एक्टिभ मनी ट्रान्सफरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरी ३ लाख नगद लुट्न सफल लिम्बूको सोही बेला पहिचान भएको थियो । उनी आइएमई गएको देखेका मनि ट्रान्सफरका छिमेकीलाई राजनको तस्बिर म्याच गराउँदा लिम्बू भएको सोही बेलै पक्का भएको र उसको चुपचाप पिछा गरिरहेको इटहरी प्रहरी प्रमुख डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

‘हामीले व्यक्ति यकिन गरिसकेका थियौँ, उसको चुपचाप पिछा गरेर पक्राउ गर्नुको विकल्प थिएन । त्यसैले उसको पिछा छाडेनौँ,’ उनले भने ।

rajan limbu ktm, pradeshportal

इटहरी प्रहरीले उनी काठमाडांै पुगेको सुइँको माथिल्लो निकायलाई दिइसकेको थियो । यहाँ मुद्दा चलाएर राजधानी बुझ्न पठाइएका राजनबारे थप हुलिया पठाइएको थियो । महानगरीय प्रहरी कार्यालयले पनि उनलाइ मस्ट वाण्टेडभित्र राखेको थियो । विभिन्न वित्तीय अपराधमा मुछिएका राजन यसअघि कर्तव्य ज्यान मुद्दामा समेत कारवाही भोगिसकेका व्यक्ति थिए । उनी दर्जनौँ आइएमई तथा बैँक डकैत केसमा मुछिइसकेका व्यक्ति थिए । काठमाडौंको अनामनगरमा अस्थायी रूपमा बस्ने लिम्बू पछिल्लो समय प्रहरीले खोजी तीव्र पारेपछि इटहरी आएर लुकेका थिए । तर, इटहरी प्रहरीले उनी आएको सूचना पाएर पिछा गरेको थियो ।
उनको बारेमा जानकारी लिन प्रहरीले विशेष टिम परिचालन गरिसकेको थियो । लिम्बूले साना हतियार भित्र्याउनलाई अन्तिम कसरत गरिसकेको प्रहरीलाई सूचना थियो । डिएसपी श्रेष्ठका अनुसार बोर्डरपारीबाट हतियार ल्याउँदैछ भन्ने सूचनामा यकिन भएकै बेला प्रहरीले इटहरीकै अर्को केसमा समय खर्च गर्नुप¥यो । चलाख स्वाभावका लिम्बूले प्रहरीको मुभमेन्ट बुझेर आइएमई लुट्न भ्याए ।

लिम्बूले इटहरीको पचरुखी र हलगडाको आइएमइ एक हप्ताको बीचमा लुटेका थिए । प्रहरीले पहिचान गरेपछि लुकेर बसेका लिम्बूले नै यो काम गरेको प्रहरीसँग यथेष्ट प्रमाण थियो । डिएसपी श्रेष्ठले उनले सुन पसल, आइएमई र बैंक लुटपाट गरी फरार हुने गरेको जानकारी दिए । ‘उसले केही घटना गराउन सक्छ भनेर हामी सचेत थियौं । ऊ हाम्रो टफ टार्गेट थियो तर हाम्रो मुभमेण्ट बुझेर उसले एट्याक्ट ग¥यो,’ श्रेष्ठले भने ।’
लामो समयदेखि अपराध शृङ्खला चलाउने तिनै लिम्बूलाइ आज दिउँसो काठमाडौको रातो पुलमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो । उनको साथबाट एउटा पेस्तोल र ४ राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले बताएको छ । खुट्टामा गोली लागेका लिम्बूको उपचार भइरहेको छ ।

काठमाडांै र सुनसरीमा मुद्दा चलाइएका लिम्बूलाई केही समयपछि इटहरी ल्याइने प्रहरीले जनाएको छ ।