इटहरीः इटहरी उपमहानगरपालिकाले लक्षित वर्गको पहिचान नै नगरी जाडोमा न्यानो कपडा वितरण गर्न भन्दै नौ सय ३१ वटा कम्बल खरिद गरेको देखिएपनि कम्बल कसलाई वितरण गरेको हो भन्नेसमेत नखुलाई दश लाख रुपैयाँ सकाएको पाइएको छ ।

उपमहानगरपालिकाले विपद व्यवस्थापन तथा उद्धारको रकमबाट ९ लाख ७८ हजार ४ सय २१ रुपैयाँ बराबरको कम्बल खरिद गरेको देखिए पनि कम्बल कसलाई वितरण गरेको हो भन्ने नखुलाई उक्त रकम सकाएको हो । कसलाई वितरण गर्ने भन्ने लक्षित वर्ग नै नखुलाई १ दशमलव ४५ किलोका ९ सय ३१ वटा कम्बलहरु उपमहानगरले २०७७ माघमा विनिता ट्रेडिङ्ग कम्पनीबाट सम्झौता गरी खरिद गरेको थियो । इटहरी उपमहानगरले २०७७ माघ १० गत ९ सय ३१ वटा कम्बल बुझेकोमा २ वटा कम्बल मात्र नगरवासीलाई वितरण गरेको भरपाई भेटिएको छ भने बाँकी कम्बल कहाँ कसलाई वितरण गरियो अथवा कुन मितिमा वितरण भयो भन्ने यकिन तथ्याङ्क पालिकासँग नभएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

कम्बल निवर्तमान जनप्रतिनिधिहरुले माघ १३ गते बुझिलिएका छन् भने सोभन्दा पछि कहिले कसलाई वितरण गरिएको हो भन्ने अभिलेख पालिकासँग छैन । मुख्य जाडो हुने पौष र माघको १३ गतेसम्म पनि वितरण नगरिएका कम्बलहरु कहाँ कसलाई वितरण गरियो भन्ने यकिन हुन नसकेको भन्दै महालेखापरीक्षकको कार्यालयले वितरण भइपाईसमेत नभएकाले उक्त सामानको सही सदुपयोग भएकोमा शङ्का व्यक्त गरेको छ । नगरपालिकाबाट वडा नम्बर १ का  निश्चल पोखरेलले ६० वटा कम्बल, वडा नम्बर २ का दुर्गाबहादुर खत्रीले ५१ वटा कम्बल, वडा नम्बर ३ मा ५३ वटा कम्बल , वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले १ सय २४ वटा कम्बल,वडा नम्बर ७ का वडाध्यक्षले ७० वटा कम्बल, र वडा नम्बर ८ मा ८० वटा कम्बल लगिएका छन् ।

khelkud add.

यसैगरी, वडा नम्बर १० मा ७० वटा कम्बल, वडा नम्बर ११ मा ७० वटा कम्बल र वडा नम्बर १२ मा ७० वटा कम्बल लगिएका छन् । यसैगरी, वडा नम्बर १३ का वडा सचिव घनश्याम चौधरीले ७५ वटा कम्बल , वडा नम्बर १६ का वडाध्यक्ष गोपाल चौधरीले ५० वटा कम्बल बुझेका छन् भने वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल साहु सुडीले १०० वटा र वडा नम्बर १९ का पदाधिकारीले ५४ वटा कम्बल लगेका छन् । नगरपालिकाबाट लगिएको कम्बल कसलाई वितरण गरियो भन्न अभिलेख भने पालिकासँग छैन ।

सबैभन्दा बढी कम्बल वडा नम्बर ५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले १ लाख ३० हजार ३ सय ११ रुपैयाँ बराबरको १ सय २४ वटा कम्बल बुझेका छन् भने वडा नम्बर १७ का निवर्तमान वडाध्यक्ष भगवानलाल साहु सुडीले १ लाख ५ हजार ९० रुपैयाँ बराबरका १ सय थान कम्बल बुझेका छन् । कम्बल विपन्न नागरिक छनौट गरी वितरण गरेको भरपाई उपमहानगरपालिकासँग नभएपनि जनप्रतिनिधिलाई कम्बल वितरण गर्दाको खाजा तथा खाना खर्चको बिल भरपाई भने नगरपालिकासँग सुरक्षित रहेको देखिएको छ । १३ जना वडाध्यक्षलाई भेला गरी कम्बल वितरण गर्दा खाजा तथा खाना खर्चमा १९ हजार ४६० रुपैँया खर्च भएको भन्दै २०७७ साल माघ २३ गते भुक्तानी गरिएको छ ।