इटहरीः नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न संघसँस्थालाई भारतीय राजदूतावासले एम्बुलेन्स र स्कुल बस सहयोग गरेको छ ।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले विभिन्न संघसँस्थालाई ७५ ओटा एम्बुलेन्स र १७ ओटा बस हस्तारण गरेका हुन् । सहयोग हस्तान्तरणका लागि आयोजित समारोहमाा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको पनि उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको प्रशंसा गर्दै यस्ता परियोजनाले दुई देशबीच जनस्तरमा रहेको आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै दुई देशबीचको द्विपक्षीय सम्बन्ध पनि सुमधुर हुने विश्वास व्यक्त गरे ।

त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको बताए । स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने उद्धेश्यले सहयोग हस्तान्तरण गरेको भारतीय राजदूतावासको भनाइ छ । सन् १९९४ देखि हालसम्म भारत सरकारले नेपाललाई नौ सय ४० ओटा एम्बुलेन्स र एक सय ८४ ओटा स्कुल बस प्रदान गरको छ ।