इटहरीः प्रदेशसभामा प्रस्तुत भएको प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।

प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट ल्याएको प्रदेश सरकारले विधेयकमाथि प्रदेशसभाले उठाएका प्रश्नहरुमाथि मुख्यमन्त्री र अन्य सम्बद्ध मन्त्रालयका मन्त्रीहरुले जवाफ दिने क्रम हिजो सम्पन्न भएपछि आज विधेयक पारित गर्ने प्रस्ताव दर्ता गरी पारित गरेको हो ।

प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रस्तुत गरेको विधेयकमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ ।

बजेट प्रस्तुत हुनुअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रस्तावमा दर्ता भएको खर्च कटौतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत भएको थियो । एमाले सांसद तुलसीप्रसाद न्यौपानेले दर्ता गराएको एक सय रुपैयाँ खर्च कटौतिको प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरिदिएको थियो । त्यसलगत्तै प्रस्तुत भएको विनियोजन विधेयक सभाले पारित गरेको हो ।