इटहरीः म्यानपावर व्यवसायीको व्यवसाय दर्ता नवीकरण नगरेर रोकिराखेको वैदेशिक रोजगार विभागले व्यवसायीहरुका लागि राहत हुनेगरी अनलाइन सेवा सुरु गर्ने भएको छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउने नाममा देशका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालित म्यानपावर एजेन्सी र तिनका एजेन्टहरुले सर्वसाधारणलाई ठगी गर्न थालेपछि विभागले व्यवसाय नवीकरण अनलाइनमार्फत् गर्ने तयारी गरेको हो । अनलाइन सेवा सुरु गर्ने सूचना जेठमै सार्वजनिक गरिसकिएको बताउँदै विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले सोहीअनुसार सेवा सञ्चालनको तयारी गरिएको जानकारी दिए ।

वैदेशिक रोजगार ऐन तथा तत्सम्बन्धी नियमावलीले तोकेबमोजिम सबै कागजात अनलाइनमार्फत् दाखिला गरेपपछि विभागले व्यवसाय नवीकरण गरिदिने उनको भनाइ छ । दर्ता नवीकरणका लागि नवीकरण दस्तुर बुझाएको भर्पाइ, इजाजतपत्रको अगाडि पछाडिको प्रति, कम्पनी दर्ताको प्रमाणपत्र, आर्थिक वर्षको कम्पनी अध्यावधिक, गत वर्षको कर बुझाएको कर चुक्ता प्रमाणपत्र, म्यानपावरले आव ०७७÷७८ मा पूर्व श्रमस्वीकृति लिएको संख्या, अन्तिम श्रमस्वीकृति लिएको संख्या, पठाएका कामदारको संख्या र आव ०७८÷७९ मा कम्तिमा एक सय जना कामदार पठाएको विवरणसमेत आवश्यक पर्ने विभागले उल्लेख गरेको छ ।

यसका अतिरिक्त सोही आवमा लेखापरीक्षण प्रतिवेदन, कम्तीमा एक वर्ष अवधि बाँकी रहेको बैंक ग्यारेन्टीपत्रलगायत कागजपत्र पेश गरिएको कागज ठीक साँचो हो भनी प्रमाणित गराएपछि दर्ता नवीकरण हुने विभागले जनाएको छ । केही दिनअघि मात्र स्थानीय प्रशासनले इटहरीमा सञ्चालित अवैध म्यानपावरहरुमा छापा मारेको थियो ।