इटहरीः नेपाल सरकारले बालबालिकाका लागि कोरोना विरुद्धको खोपको २२ लाखभन्दा बढी डोज खोप भित्र्याएको छ ।

पेडियाट्रिक फाइजर ब्राण्डको २२ लाख ९९ हजार २ सय डोज खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दोस्रो डोजनका रुपमा लगाउनका लागि ल्याइएको हो । असार ९ गतेदेखि १५ गतेसम्म ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइएको थियो । २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।

पहिलो चरणमा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप कार्यक्रम सञ्चालन भएको थियो । त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि खोप कार्यक्रम सञ्चालन भएको थियो । बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त्रालयको योजना छ ।