काठमाडौँः अब सहरी क्षेत्र वा राजमार्ग आसपासका क्षेत्रमा दृश्यमा दिग्भ्रमित गराउने र सवारी दुर्घटना गराउने होर्डिङ बोर्ड, पर्चा, पम्प्लेट, पोष्टर राख्न नपाइने भएको छ ।

विज्ञापन बोर्डले आज सार्वजनिक गरेको विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसहिंतामा रातको समयमा अत्याधिक चम्किलो प्रकाश दिने वा सवारी आवागमन असर पार्ने गरी विज्ञापन गर्न नपाइने उल्लेख छ ।

सडक तथा सडक पेटीका खम्बा, पुल, आकाशे पुल, सडक किनारका रूख बिरूवा वा सडकको सौन्दर्यमा खलल पार्ने गरी विज्ञापन सामग्री राख्न नहुने उल्लेख छ ।

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले विदेशी विज्ञापनलाई नेपाली भाषामा डबिङ गरी प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

विज्ञापनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न अन्य कुनै पनि व्यक्तिले विज्ञापन गर्दा वा गराउँदा लैंगिक समानता कायम गर्न र सामाजिक विभेद् अन्त्य गर्न आचरण पालना गर्नुपर्ने उल्लेख छ ।

विज्ञापनमा महिलालाई यौनभोग्य वस्तु, विलासिता वा मनोरञ्जनको साधनको रूपमा प्रयोग गर्न नहुने उल्लेख छ ।

संवेदनशील अंग प्रदर्शन गर्ने, महिलालाई पुरूषका तुलनामा कमजोर पात्रका रूपमा प्रस्तुत गर्ने विज्ञापन उत्पादन र प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।

विज्ञापनमा दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, सीमान्तकृत वर्ग, यौनिक अल्पङ्ख्यक वा कुनै वर्ग क्षेत्र सम्प्रदाय वा समुदायको मर्यादामा आँच आउने गरी सामग्री बनाउन नहुने उल्लेख छ ।

बालबालिकामा डर, त्रास, भय उत्पन्न गर्ने कार्यक्रम, विद्युतीय खेल वा चलचित्रको विज्ञापन गर्न नहुने र उनीहरूलाई होच्याउने र आत्मसम्मानमा चोट पु¥याउने विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने आचारसंहितामा उल्लेख छ ।

विज्ञापन व्यवसायमा संलग्न व्यक्तिले कुनै खास एउटै औषधिबाट सम्पूर्ण रोग निवारण हुने वा उपचार हुने, त्यसको ग्यारेन्टी हुने भनी औषधि विज्ञानले प्रमाणित नगरेका झूटा, अवैज्ञानिक विवरणयुक्त विज्ञापन उत्पादन र प्रसारण गर्न नहुने उल्लेख छ ।

मानव अंग बढाउने, उचाइ बढाउने वा शरीरको तौल घटाउने वा बढाउने भनी प्रमाणित नभएका विषयमा पनि विज्ञापनमा रोक लगाइएको छ ।

विभिन्न रङ र कृत्रिम स्वादमा उत्पादित पेय पदार्थबाट हुने हानीको सम्बन्धमा सचेतनामूलक सन्देश समावेश नगरी विज्ञापन दिन नहुने आचारसंहितामा उल्लेख छ ।

खाद्य तथा पोषणविद्को सिफारिसबिना खाद्यपुरक वस्तु (माइक्रो न्यूट्रियन्ट) तथा शक्तिवर्द्धक भनी कुनै पनि वस्तुको प्रयोग गर्न उक्साउने, लोभ्याउने खालका विज्ञापन गर्न नहुने उल्लेख छ ।

सहरी तथा स्थानीय सौन्दर्यमा प्रतिकूल असर पार्ने, च्यातिएका, खुइलिइएका वा होर्डिङ बोर्ड वा परीचयपाटी सम्बन्धित व्यक्तिले यथाशीघ्र हटाउनु वा त्यसमा सुधार गर्नुपर्ने उल्लेख छ ।

सडक पेटीबाट आवातजावतमा असर पुग्ने गरी होर्डिङ बोर्ड राख्न नहुने र धार्मिक, पुरातात्विक स्थानमा त्यहाँको मौलिकता ढाक्ने गरी राख्न नहुने उल्लेख छ ।

अनुमति दिएका स्थानमा निर्धारित आकार प्रकार र गुणस्तरको मात्रै विज्ञापन राख्न पाइने व्यवस्था रहेको छ । -रासस