ताप्लेजुङः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज प्रदेश १ को मेची कोरिडोरको उत्तरी नाका ओलाङचुङगोला पुगेका छन् ।
ओलाङचुङगोला क्षेत्रसम्म पुग्ने गरी बन्दै गरेको ओलाङचुङगोला उत्तरदक्षिण लोकमार्ग, त्यहाँ स्थापना हुन लागेको सशस्त्र प्रहरी सीमा पोष्ट र अन्य स्थलगत जानकारी लिन मुख्यमन्त्री आज बिहान ओलाङचुङगोला पुगेका थिए ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, ताप्लेजुङका प्रदेश सांसद बलबहादुर साङ्सोहाङसहितको समूहमा मुख्यमन्त्री राई हेलिकप्टरबाट ओलाङचुङगोला पुगेका थिए । केही समय अगाडि चीनसँग भएको पारवाहन सन्धिको प्रोटोकल हस्ताक्षरपछि ओलाङचुङगोलाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय नाका भने पनि सुविधाहरू भने अझै पनि पुग्न नसकेको स्थानीय बताउँछन् । अझै २६ किलोमिटर सडक खण्डको ट्रयाक समेत खोल्न बाँकी रहेको प्रदेश सांसद बलबहादुर साङ्सोहाङ बताउँछन् ।
ओलाङचुङगोलाका स्थानीयसँग सञ्चार सुविधा विकास गर्ने, सडक निर्माणमा गति दिने र सीमा सुरक्षा आदि विषयमा मुख्यमन्त्रीले स्थानीयसँग छलफल गरेको प्रदेश सांसद साङ्सोहाङले बताए । उनले भने, ‘मुख्यमन्त्रीले सडक, सञ्चार, सिमाना प्रशासन र सुरक्षाका विषयमा स्थलगत अध्ययन गर्नुभएको छ । यसले उत्तरी नाकावासीलाई प्रदेश सरकारसँगको दूरी घटाएको छ ।