इटहरीः प्रदेश नम्बर १ बाट ओलम्पिक, साफ र एसियन खेलमा सहभागी भएका सबै खेलाडीले निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको खेलकुद विकास बोर्डले आइतबार विराटनगरको नोवेल मेडिकल कलेज र काठमाडाँैको काठमाडौँ मेडिकल कलेजसँग एक भव्य समारोहका बीच स्वास्थ्य सेवा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा नोबेल मेडिकल कलेजका तर्फबाट प्रबन्ध निर्देशक इन्दिरा न्यौपाने बराल र काठमाडौँ मेडिकल कलेजका तर्फबाट सुनिल शर्माले हस्ताक्षर गरेका छन् भने प्रदेश खेलकुद विकास बोर्डको तर्फबाट सदस्यसचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री साक्षीका रुपमा उपस्थित भएका थिए । उता मेडिकल कलेजले पनि साक्षीको रुपमा अस्पतालमा प्रशासकीय अधिकृतलाई उपस्थित गराएका थिए । यसैगरी, नेपाल ओलम्पिक एसोसियनसँग पनि अस्पतालले सम्झौता गरेका छन् । यी दुवै अस्पतालले नेपालभरिबाट अहिलेसम्म ओलम्पिक खेलमा सहभागी भएका सबै खेलाडीलाई निःशुल्क उपचार सेवा दिने अर्को सम्झौता गरेका छन् ।

291116593_583891203114613_6214119106625950342_n

सो सम्झौतामा दुवै अस्पतालसँग नेपाल ओलम्पिक एसोसियसनका अध्यक्ष दीपक बिष्टले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार प्रदेश १ का सम्पूर्ण ओलम्पिक, साफ र एसियन खेलमा सहभागी भएका खेलाडीले नोबेल मेडिकल कलेज विराटनगरमा क्याबिन सहितको उपचार सेवा निःशुल्क पाउने छन् भने खेलाडीका परिवारले सोही सेवा ५० प्रतिशत छुटमा पाउने भएका छन् । सम्झौतापत्रमा हस्ताक्षरपछि कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले उपचारका क्रममा केही साह्रोगाह्रो परे उपलब्ध गराइएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत खेलाडीलाई अनुरोध गरेका थिए । हस्पिटलले खेलाडीको लागि एउटा विशेष प्रकारको कार्ड बनाइदिने वा बीमा गरिदिने र सोही आधारमा खेलाडी र उनका परिवारले उपचार सेवा पाउने शर्माले बताए ।

291011536_570858271210248_1666241110801056470_n