इटहरीः प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले प्रदेशमा रहेर विभिन्न समयमा विभिन्न विधामा ओलम्पिक, साग र एसियन खेलमा सहभागी भएका खेलाडीलाई विशेष सम्मान गरेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको प्रदेश खेलकुद विकास बोर्डले नेपालमै पहिलो पटक आइतबार विराटनगरमा भव्य कार्यक्रमको आयोजना गरी ताम्रपत्रसहित १८८ जना खेलाडीलाई सम्मान गरेको छ । बोर्डले ओलम्पिकतर्फ ६, एसियनतर्फ १४२ र सागतर्फका ४० जना खेलाडीहरुलाई सम्मान गरेको हो । खेलाडीलाई सम्मान वरुप नेपाल प्रहरीको व्याण्ड टोलीले बाजागाजासहित र्यालीमा सरिक गराएको थियो । रयालीको प्रथम चरणमा ओलम्पिकमा सहभागी खेलाडी, दोस्रोमा एसियन खेलमा सहभागी खेलाडी र तेस्रोमा सागमा सहभागि खेलाडीपछि प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई र सामाजिक विकास मन्त्री राजन राई, बोर्डका सदस्यसचिव हंशराज वाग्लेको टोलीले कार्यक्रम हल एयरपोर्ट मोडस्थित पर्पल हेज गार्डेन एण्ड रेष्ट्रोमा पुर्याएको थियो ।

cm rai.

कार्यक्रममा ओलम्पिकमा सहभागी खेलाडीहरुलाई विशेष सम्मानका साथ मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसँगै मन्चमा राखिएको थियो भने सम्पूर्ण खेलाडीलाई ताम्रपत्र र खादाले सम्मान गरिएको थियो । सम्मानित हुने खेलाडीहरुले आगामी ५ वर्षका लागि काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निःशूल्क उपचार पाउने छन् । खेलाडीका परिवारका सदस्यहरुले पनि उक्त दुई अस्पतालमा विभिन्न उपचारमा ५० प्रतिशतसम्म छुट पाउने जनाइएको छ । प्रदेशको प्रतिनिधित्व गर्दै खेलमा सहभागी खेलाडीलाई सम्मान गर्ने प्रदेश १ पहिलो प्रदेश सरकार हो । जसले विभिन्न समयमा खेल खेलेका खेलाडीलाई एकै ठाउँमा उपस्थित गराएर उनीहरुको सम्मानस्वरुप भव्य कार्यक्रम गरेपछि अधिकांश खेलाडीले प्रशंसा गरेका थिए ।

cm rai2

गत चैत्र २२ गते प्रदेश सरकारले खेलकुद विकास बोर्डको उपाध्यक्षमा जीना कार्की र सदस्य सचिवमा वाग्लेलाई नियुक्त गरेपछि प्रदेशमा खेलकुदका गतिविधि चलायमान भएका छन् । बोर्डको सदस्यमा शैलेशकुमार बिष्ट र रितेश श्रेष्ठ रहेका छन् । बोर्डले आगामी आर्थिक वर्ष २०७९÷८० मा खेलकुद पूर्वाधार विकास र खेलकुदका विभिन्न काम गर्न ६३ करोड ५० लाखको बजेट माग गरेको थियो तर सरकारको बजेटको सिलिङ नै कम भएपछि बोर्डले जम्मा १२ करोड ४७ लाख रुपैयाँ बजेट पाएको छ ।