इटहरीः जनता समाजवादी पार्टी (जसपा) ले अहिले सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

फिर्ता बोलाइने मन्त्रीहरुमा भौतिक पूर्वाधार मन्त्री रेनु यादव, वनमन्त्री रामसहाय यादव र कृषि मन्त्री महिन्द्र राय यादव रहेका छन् । पुराना मन्त्री फिर्ता बोलाइएसँगै भौतिक पूर्वाधार मन्त्रीमा मोहम्मद इस्तियाक राई, वन मन्त्रीमा प्रदीप यादव र कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई सिफारिस गरिएको पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए । उनका अनुसार नयाँ मन्त्रीहरुको हिजो साँझ प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।

सिफारिस भएका मन्त्रीहरुको आजै सपथ ग्रहण हुनसक्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ सिफारिस गरेसँगै जसपाले पनि त्यही लय समातेको हो । मन्त्री फिर्ता बोलाउने कसरत ६ महिनादेखि जसपाभित्र जारी रहेको बल्ल उनीहरु फिर्ता बोलाइएका हुन् । जसपाका दुई शीर्षस्थ नेताहरु उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच विवाद भई सौहार्दपूर्ण रुपमा अलग हुने सहमति भएसँगै मन्त्रीहरु फिर्ता बोलाइएका हुन् ।