इटहरीः सुनसरीको धरानमा विभिन्न समयमा हत्या भएका व्यक्तिका परिवार सहितको धर्ना भानु चौकमा भइरहँदा धरान उपमहानगरका मेयर हर्क साम्पाङ्ग भने इलाका प्रहरी कार्यलयमा पुगेका छन् ।

धर्नामा रहेकाहरुले आफ्नो कुरा सुनाउन खोज्दा मेयर साम्पाङ्गले समय नदिएको भन्दै मेयरको विरोध गरेका थिए । तर मेयर साम्पाङ्ग भने धर्नामा रहेकाहरुले बोलाउँदा आफू लागूऔषध विरुद्धको कार्यक्रममा रहेको हुँदा त्यहाँ नआएको प्रतिक्रिया दिएका छन् । केही दिनदेखि दैनिक दिउँसो ४ देखि ५ बजेसम्म धरानको भानुचौकमा हुने गरेको धर्ना कार्यक्रममा बसेकाहरुलाई मेयरले धर्नामा बस्नुभन्दा इलाका प्रहरी कार्यलयमा गएर घटनाको सत्यतथ्य जानकारी लिन सुझाव दिएका छन् । विभिन्न समयमा मृत फेला परेका ४ जना व्यक्तिका परिवारसहित असार ११ गते शनिबारदेखि भइरहेको धर्ना कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी र अन्य क्षेत्रीय तथा साना दलहरु पनि सहभागी छन् ।

धर्नामा बस्नेहरुमा धरान ४ स्थित वेदामे खहरे खोलामा २०७८ वैशाख पहिलो साता मृत भेटिएका प्रदीप सुब्बाको परिवार २०७८ साउन १३ गते आफ्नै घरको पानीट्यांकीमा मृत भेटिएका धरान ५ का विनोद लिम्बूको परिवार, २०७८ कार्तिकमा धरान २० खैरे खोलामा शव भेटिएका साँगुरीगढी गाउँपालिका घर भई धरान ११ मा बस्दै आएका झगेन्द्र राईको परिवार र गत जेठ १२ गते धरान ५ स्थित सेउती खोला किनारमा शव भेटिएका धरान ११ का सन्दीप लम्जेलको परिवार रहेका छन् । यी चार जनामध्ये प्रदीप सुब्बा र सन्दीप लम्जेलको हत्यामा संलग्नहरु पक्राउ परेर अदालतमा पेस भइसकेका छन् ।

प्रदीपको हत्याका ३ जना आरोपीमध्ये जन्तरे भनिने रामकुमार राईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो भने भरत भुजेल र मंगलसिंह लिम्बूलाई धरौटीमा छोडेको थियो । अदालतले जन्तेरेलाई छोडेको भन्दै परिवार असन्तुष्ट रहेको बुझिएको छ । यस्तै, सन्दीप लम्जेलको हत्यामा १२ वर्ष १० महिना र १७ वर्ष उमेरका नाबालकहरु पक्राउ परेका थिए । कानूनबमोजिम जिल्ला अदालतले १२ बर्षका बालकलाई अभिभावकको जिम्मा लगाएको छ भने १७ बर्षका नाबालकलाई पुर्पक्षको लागि भक्तपुरस्थित बाल सुधार गृहमा पठाउने आदेश दिएको छ ।

आफ्नै घरको ट्यांकभित्र मृत भेटिएका विनोद लिम्बू र खैरे खोलामा मृत भेटिएका झगेन्द्रको घटनाबारे भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानको भनाइ छ ।
मृतकका परिवारले प्रहरीसँग घटनाको अनुसन्धानको बारेमा बुझ्नुको सट्टा भानु चौकमा धर्ना बसेको उपमहानगरका मेयरको भनाइ छ । धर्नामा बसेका केही व्यक्तिहरुले मेयर हर्क साम्पाङ शुक्रबार घण्टाघर परिसरमा लागुऔषधविरुद्ध प्रदर्शन गर्न आउँदा नजिकै धर्नास्थलमा आएर मागपत्र नबुझेको भन्दै असन्तुष्टि पनि व्यक्त गरिरहेका थिए । प्रहरी कार्यालयबाट बाहिरिँदै गर्दा मेयर साम्पाङले शुक्रबार आफू लागुऔषधविरुद्धको जनचेतना कार्यक्रमको लागि गएको र त्यहीँ आउनु न भन्दा पनि धर्नामा बसेकाहरु नआएको बताए ।

धर्ना बस्ने तर उपमहागनरपालिकामा पनि भेट्न नआउने र प्रहरी कार्यालयमा पनि यथार्थ बुझ्न नआएको मेयर साम्पाङ्गले बताएका छन् । आफू प्रहरी कार्यालयमा ४ वटा घटनाबारे भनेर बुझ्न आएको र २ वटा घटनाको अनुसन्धान पूरा भइसकेको र २ वटा अनुसन्धानमा भएको जानकारी पाएको पनि मेयर साम्पाङले बताए । साथै, मेयर साम्पाङले यथार्थ बुझ्न सम्बन्धित निकायमा पुग्न पनि धर्नामा बसेकाहरुलाई आग्रह गरेका छन् ।