इटहरीः सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले केन्द्रीय नेताहरु प्रचण्ड, केपी शर्मा ओली, शेरबहादुर देउवा र राजेन्द्र लिङ्गदेनलाई धरानको पकुवा खोलामा निम्तो गरेका छन् ।

राष्ट्र र राष्ट्रियता भएका व्यक्तिले देशमा श्रमदान गर्नुपर्छ भन्ने भावना राख्ने मेयर साम्पाङ्ग हरेक हप्ता श्रमदानको लागि पकुवा खोलामा स्वतन्त्र धराने जनतासँगै जाने गरेका छन् भने उनले केन्द्रीय नेतालाई समेत श्रमदान गर्न आव्हान गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा अपडेट गर्दे मेयर साम्पाङ्गले ‘देशका ठूलठूला नेता पनि पकुवा खोलामा श्रमदान गर्न आउनुपर्छ , ताकि बुझुन् हामी विकासका निम्ति कति व्यग्र छौँ भन्ने’ भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली , प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई सामाजिक सञ्चालबाटै पकुवा खोलामा श्रमदानको लागि आउन निम्तो गरेका हुन् ।

पछिल्लो पोस्टमा मेयर साम्पाङ्गले माटो नछुनेलाई माटोको कोमलता थाहा नहुने भन्दै राष्ट्रवादी अभिव्यत्तिः दिएका छन् । तीन लाखभन्दा बढी फलोअर भएको उनको पेजमा समर्थकहरु र विरोधी पनि उत्तिकै भेटिन्छन् । सचेत धराने समुहको अगुवाइमा धरानको पकुवा खोलामा भइरहेको खानेपानीको कामको ८५ प्रतिशत काम पूरा भइसकेको अभियान्ता विसन लिम्बूले बताएका छन् । १६ दिनदेखि पकुवा खोलाको पानी धरानमा ल्याउन श्रमदान गरिरहेका लिम्बूले पकुवा खोलाको पानी लगातारको श्रमदानले इन्टेक ट्याङ्की र आउट टेक ट्याङ्कमा पार्न सफल भएको बताएका छन् ।

साम्पाङ्गले हामी त मरेर जान्छौँ एक दिन भावी पुस्ताले पकुवा खोलामा श्रमदान गर्नेलाई सम्झिन्छ होला भन्ने विसनको भनाइप्रति भावुक बन्दै सामाजिक सञ्जालमार्फत् नै धन्यवाद दिएका छन् ।