इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी नायबमहानिरीक्षक (डीआईजी) लाई दिने तयारी गरेको छ ।

ती तीनै निकाय हाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सुरक्षा कमाण्डमा रहँदै आएको भएपनि अब डीआईजीको नेतृत्वमा राख्ने निर्णय गरिएको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए । दरबन्दी नभए पनि तीनै निकायको सुरक्षाका लागि काज सरुवा गरी डीआईजी पठाइएको उनको भनाइ छ ।

आइतबार नै डीआईजीहरुको काज सरुवा गरिसकेको बताउँदै गृहमन्त्री खाणले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा डीआईजी श्यामलाल ज्ञवाली र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मीरा चौधरीलाई सरुवा गरिएको बताए । यसैगरी नेपाल प्रहरी शिक्षालय भरतपुरमा डीआईजी सन्दीप भण्डारीलाई काजमा खटाइएको गृह मन्त्रालयले जनाएको छ ।