इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ्चालनमा आएको छ ।

इटहरी १७ लविपुरको विवेक आयल ट्रेडर्ससँगै खुलेको ढावा मंगलबारदेखि मात्र सञ्चालनमा आएको हो । विशेषगरी राजस्थानी स्वादलाई नेपाली जनजिब्रोमा चखाउने उद्देश्यले ढावा चलाउने सोच बनाएर अघि बढेको सञ्चालक मध्येका मीनकुमार मगरले प्रदेश पोर्टललाई बताए । ढावा आइटममा विशेष प्रकारको रोटिका साथमा आफैँले जमाएको दही, ग्राहकको रोजाइअनुसार खसी अथवा लोकल कुखुराको मासु, दालको परिकार, साथमा सलाद र एक कचौरा चावल अर्थात भातको खाना सेट रहने मगरले सुनाए ।

भारतको हरियाणा शहरमा ८ वर्षसम्म मिनु ढावा सञ्चालन गरेर अनुभव बटुलेका मीनसँगै भारतमै काम गरेका खड्ग मगर, वैदेशिक रोजगारीमा साउदी अरबमा भान्सामै काम गरेका दीपक लिम्बू र इटहरीवासी युवक रितेश श्रेष्ठको संयुक्त लगानीमा ढावा सञ्चालन भएको हो । होटल लाइनमै काम गरेर साउदीअरबबाट फर्केका दीपक र भारतकै हरियाणामा लामो समय होटल क्षेत्रमै काम गरेका खड्ग र मीनको अनुभवलाई नेपाली जनजीवनमा घुसाउन आफूहरुले ढावाको परिकल्पना गरेको सञ्चालक मध्येका रितेश श्रेष्ठले बताए ।

rajasthani dhawa1

वैदेशिक रोजगारीमा रहेका खड्ग र दीपकलाई स्वदेशमै व्यवसायी बनाउन आफूहरुले साथ दिएको मीनको भनाइ छ । विशेष प्रकारको खाना ख्वाउने हिसाबले इटहरीमै नभएको परिकारलाई भित्र्याएको र मूल्यको हिसाबले एकदमै एफोर्डेवल रहेको समेत मगरको दाबी छ । ढावामा राजमा चावल, कडी चावल तथा अदुवा र अलैँची हालेको स्पेशल चिया पाइने सञ्चालकको भनाइ छ ।

स्पेसल उसिनेको परिकारमा माछा र ब्रोइलर कुखुराको मासु बनाइन्छ भने निकट भविश्यमै खसीको मासुको कटिया माटोको भाँडोमा कोइलामै पकाएर ग्राहकलाई दिने योजनामा आफूहरु लागेको सञ्चालक मगर बताउँछन् । युवाहरुलाई लक्षित गरेर विदेश जानुभन्दा देशमै स्वरोजगार बन्न प्रेरित गर्दै यस्तो प्रकारको कन्सेप्ट ल्याएको बताउँदै मगरले हरेक व्यापारमा स्थापित हुनको लागि धर्य आवश्यक पर्ने र विदेश जाने चासोभन्दा आफ्नो व्यापारलाई कसरी अघि लैजान सकिन्छ भन्ने चासोमा लाग्न उनी आग्रह गर्छन् ।

rajasthani dhawa2.