विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भेटिए । मैदानमा हुञ्जेल हाइहाई हुने पूर्वखेलाडी हरि खड्काको क्रेज अहिले पनि नेपाली फुटबलमा उत्तिकै भेटिन्छ र हामीले भेट्दा पनि त्यत्तिकै थियो । प्रदेश नम्बर १ को खेलकुद विकास बोर्डले खड्का र उनीजस्तै साग, एसियन र ओलम्पिक खेलमा सहभागी खेलाडीहरुलाई सम्मानको कार्यक्रम राखेको थियो । ताम्रपत्रमा सजिएको सम्मानपत्र पाउँदा खेलाडीहरुले राज्य भएको महसुस गरेको हरिले हामीसँग बताए ।

प्रदेश १ मा खेलकुद विकास बोर्ड गठन भएपछि खेलाडीले सम्मान पाएको भन्दै खड्काले प्रमाणपत्र पाउनु मात्र महत्वपूर्ण नभई प्रदेशबाट अहिलेसम्म साग, एसियन र ओलम्पिकमा सहभागी खेलाडीलाई एकै ठाउँमा भेला गरेर पुनर्मिलनको कार्यक्रम गराउनु पनि महत्वपूर्ण भएको बताए । लामो समयदेखि खेलप्रेमीहरुले उठाएको खेलाडीको स्वास्थ्योपचारको समाधान बोर्डको सहयोगमा भएकोमा खुसी लागेको खड्काको भनाइ थियो । प्रदेश खेलकुद विकास बोर्डले आइतबार नै विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडाँैको काठमाडौँ मेडिकल कलेजमा प्रदेश १ का हालसम्म साफ, एसियन र ओलम्पिक खेलमा सहभागी सबै खेलाडीलाई क्याविन सहितको निःशुल्क उपचार गरिदिने सम्झौता गरेको थियो ।

291233954_841663540140510_9142128299429417518_n

उता भलिबलका पूर्वखेलाडी वीरनारायण चौधरी पनि निकै हर्षित मुद्रामा थिए । नेपालमा मात्र नभई सातौँ साउथ एसियन खेलमा भारतको मद्रासमा सहभागी भएका चौधरीले खेलाडीको पुनर्मिलन र सम्मान गर्ने कार्यक्रम गरेकोमा बोर्डका सदस्यसचिव हंशराज वाग्लेलाई हृदयदेखि नै धन्यवाद दिए । पछिल्लो समय कोरोनाका कारण विद्यालय र कलेजहरु बन्द हुँदा खेलाडीहरु निस्कन नसकेको बताउने चौधरी विद्यालय र कलेज तहमा प्रशिक्षण केन्द्रित गर्नुपर्ने धारणा राख्छन् । यता, लङ्ग टेनिसमा सहभागी भएकी खेलाडी आइरा मेर्हनिसा राउत सन् २०११ मा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएकी थिइन् । अहिले स्नातक पहिलो वर्षमा अध्ययनरत रहेकी उनी खेल जीवनबाटै घाइते भएर जीवन बिताइरकी छन् । सम्मान समारोहमा भेटिएकी आइरालाई निःशुल्क स्वास्थ्योपचार हुने कुराले निकै खुसी तुल्याएको छ ।

291098991_1174934489956184_8204415248916990728_n

उनीजस्तै घाइते भएका धेरै खेलाडीलाई निःशुल्क स्वास्थ्य उचपार पाइने कुराले हर्षित बनाएको आइराले प्रदेश पोर्टललाई बताइन् । एसियन गेममा कोरिया, बँैकक, भियतनाम, सिङ्गापुरसम्म पुगेकी आइराले २ पटकसम्म मेडल देशमा भित्र्याएकी छन् । यता सुनसरीका फुटबल खेलाडी सुरेन्द्र तामाङ्ग प्रदेश १ को खेलकुद विकास बोर्डले ऐतिहासिक काम गरेको बताउँछन् । खेलमा आफ्नो जीवन व्यतित गरेका खेलाडीलाई सम्मान गर्नु ठूलो काम भएको र यसले खेलाडीको आत्मविश्वास बढाएको तामाङ्गको भनाइ छ । नेपालको इतिहासमै प्रदेश खेलकुद विकास बोर्डले खेलाडीहरुका लागि ठूलो सम्मान दिएको तामाङ्गले प्रदेश पोर्टलसँग बताए ।

यता, भलिबलबाट सन् १९८२ मा एसियन खेलमा सहभागी भएका खेलाडी प्रकाश थपलिया आफ्नो ६१ वर्षीय जीवनमै सम्मान पाउँदाको क्षण ऐतिहासिक भएको बताउँछन् । कोरिया र जापानमा तेस्रो र पाँचौ एसियन गेम र भारत र पाकिस्तानमा तेस्रो र चौथो साफ गेममा सहभागी भएका थपलिया प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव वाग्लेको पहलमा खेलाडीलाई निःशुल्क स्वास्थ्योपचार दिने निर्णय स्वागतयोग्य रहेको बताउँछन् । विभागीय टोलीका त्रिभुवन आर्मी क्लब, महेन्द्र पुलिस क्लब र एपिएफको टोलीलाई समेत प्रशिक्षण दिइरहेका थपलिया अहिले नेपालमा भलिबल खेलको स्तर खस्किएकोमा भने निकै चिन्तित देखिन्छन् । सुनसरीलाई भलिबलको उर्वरभूमि मानिएता पनि सुरक्षाको कारण भलिबल खेल भित्र खेलिनुपर्नेमा कोर्टहरु बाहिर हुँदा वर्षका चार महिला खेल नै नहुने गरेको समेत थपलियाले बताए ।

१३ औँ साग खेलमा सुनसरीबाट तेक्वान्दोमा प्रतिस्पर्धा गरेकी अप्सरा कार्की पनि खेलाडीलाई सम्मान गर्ने प्रदेश १ खेलकुद विकास बोर्डको काम सराहनीय भएको बताउँछिन् । काठमाडाँबाट सम्मान थाप्न विराटनगर आएकी अप्सरा खेलाडीको सम्मानमा राष्ट्रले कञ्जुस्याइँ गर्न नहुने समेत बताउँछिन् । खेलाडी सम्मान नाम दिइएको उक्त कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राई, सामाजिक विकास मन्त्री राजन राई , आर्थिक मामिला मन्त्री इन्द्र आङ्गवो, कानुनमन्त्री केदार कार्की, पर्यटन मन्त्री खिनु लिम्बूका साथै प्रदेश सांसद, प्रदेश १ बाट ओलम्पिक, एसियन र साग खेलमा सहभागी हुने खेलाडीहरुको उपस्थिति रहेको थियो ।

290637198_421463736697665_5775821755280309552_n 291076110_563322335504703_367273184328870548_n