इटहरीः केन्द्रीय निक्षेप प्रणाली(सीडीएससी)ले एप्पलका प्रयोगकर्तालाई लक्षित गरी मेरो शेयर एप्लिकेसनलाई आईओएसमा पनि उपलब्ध गर्ने भएको छ ।
यसअघि एन्ड्रोइड डिभाइसबाट मात्र डाउनलोड गर्न र चलाउन मिल्ने मेरो शेयर एपलाई अब भने आइफोन तथा एप्पलको डिभाइस चलाउने प्रयोगकर्तालाई समेत लक्षित गरेर आईओएसमा समेत उपलब्ध गराउने बताएको हो ।
प्रयोगकर्ताले आगामी आर्थिक वर्षको पहिलो दिन अर्थात साउन १ गतेबाट एप्पलको डिभाइसमा मेरो शेयर एप डाउनलोड गर्न तथा प्रयोग गर्न सक्नेछन् । सीडीएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्नेगरी आईओएसमार्फत् उक्त एप उपलब्ध गराउने बताएको छ । “नयाँ आर्थिक वर्षबाट हामी आईओएसमार्फत् मेरो शेयर एप उपलब्ध गराउनेछाँै ।” सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले भने ।
यसअघि नै सीडीएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ता भने उक्त एप डाउनलोड गर्नबाट बञ्चित हुँदै आएका थिए । सोही अवस्थालाई मध्यनजर गर्दै सीडीएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।
मेरो शेयर एपमार्फत् लगानीकर्ताले शेयर विवरण, बजार पोर्टफोलियो मूल्य, आईपीओ, एफपीओ, हकप्रद शेयर आवेदन, भारित औसत लागत गणना, इडीआइएसजस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । यसले लगानीकर्तालाई शेयर कारोबारमा थप सहजता प्रदान गरेको सीडीएसको भनाइ छ ।