इटहरीः नेपालीको पुख्र्यौली सीपबाट उत्पादन हुने कोदोको रक्सीलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी जिल्ला तदर्थ समिति गठन भएको छ ।

शनिबार सुनसरीको धरानमा रहेको मुकुमलुङ होटेलमा भएको भेलाले नगेन्द्र पारघरीको संयोजकत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो । 

तदर्थ समितिका सदस्यहरुमा निमा पोङ्स्युवा, रीता खापुङ, लीला राई, सानु लुहागुन, सुमित्रा राई, निर्मला राई, कमला सुब्बा, हेमराज जिमी, विश्वास मगर, बिना पुमा राई, ऐसा सुनुवार र लक्ष्मी राई रहेका छन् । त्यसैगरी, सात सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । सल्लाहकार समितिमा हर्ष सुब्बा, डा.कमल तिगेला, नरप्रसाद लुङ्फुङ्बा, बिपिन इवारम ,भक्तराज रसाइली, तेन्जिङ शेर्पा र ताजुप लिम्बू रहेका छन् ।

प्रदेश १ सरकारले परम्परागत घरेलु मदिरा कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने नीति लिएपछि  जनस्तरबाट नै दबाब दिने उद्देश्यले प्रदेश १ मा रहेका १४ जिल्लामा समिति गठन गर्न थालिएको हो । यसै क्रममा  सुनसरी जिल्ला समिति गठन गरिएको प्रवद्र्धन समिति संयोजक टेकबहादुर खजुम बताउँछन्  ।

 हालसम्म झापा र मोरङ्गमा समिति गठन भइसकेका छन् भने सुनसरीले आइतबारबाट पूर्ण रुप लिएको छ । 

प्रदेश १ की तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईले लिएको नीतिलाई कार्यान्वयन गर्न जनस्तरबाट दबाब दिने उद्देश्यले जिल्ला समिति गठन गर्ने काम भएको उनले बताए । गठित जिल्ला समितिले स्थानीय तहमा समिति विस्तार गर्नुपर्ने म्याण्डेट अनि अधिकार दिएको उनले बताए । भेलामा संयोजक खजुमका लिखित अवधारणा प्रस्तुत गरिएका थिए । अवधारणामा देश व्यापार घाटाको संकटबाट गुज्रिरहेको भन्दै नेपाली जनताले आ आफ्नो स्थानबाट गम्भीर भएर सोच्नुपर्ने उल्लेख छ । यसै सन्दर्भमा विशेषतः पूर्वी नेपालमा बसोबास गर्दै आएका बहुसंख्यक जनताका पुर्खाले आविष्कार तथा विकास गरेका मदिरालाई आर्थिक उपार्जनको माध्यमका रुपमा लिन सकिने सहभागीहरुले बताए । परम्परागत प्रविधि विकास गरी उत्पादन गरिएको रक्सी लोकप्रिय तथा भिन्न स्वाद गुण र उपयोगितायुक्त र अर्गानिक भएको अवधारणापत्रमा उल्लेख छ । 

समितिले प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र  राई तथा सामाजिक विकास मन्त्री प्रकाश हाङगमसमक्ष बजेट ब्याबस्थापनको लागि माग गरिसकेको छ ।

शनिबार भएको छलफलमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले धरान उपमहानगरमा निवर्तमान मेयर तिलक राईको कार्यकालमा तीनपाने रक्सी ब्राण्डिङ गर्ने निति ल्याईसकेको र खाद्य प्रविधि विशेषज्ञ सहितको समिति बनिसकेकोले उनीहरुसँंग पनि मिलेर जान सुझाव दिएका थिए । कार्यक्रमलाई सहजीकरण सरु सिंगकले गरेका थिए ।