वासिंगटनः अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेश एडमिनिस्ट्रेसन (नासा)को दश अर्ब अमेरिकी डलर मूल्य पर्ने अन्तरिक्ष टेलिस्कोपले ‘स्टेल्लार नर्सरी’ र ‘कस्मिक डान्स’का अदभूत तस्विरहरू खिच्न सफल भएको छ ।

 प्रसिद्ध हबल टेलिस्कोपको उत्तराधिकारीको रुपमा लिइएको जेम्स वेव वेधशालाले आफूले खिचेको पहिलो पूर्ण रंगिन तस्विरहरू प्रस्तुत गरिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले धेरै टाढाको आकासगंगाका एउटा तस्विर सार्वजनिक गर्दै सोमवार यसको टिजर प्रदान गरेका थिए । यो परियोजनामा संलग्न वैज्ञानिकहरूले वेवको विविध क्षमताहरू प्रदर्शन गर्ने उद्देश्यले थप तस्विरहरूका लागि प्रयास गरिरहेका छन् । 

यस नयाँ वेधशालाबाट इन्फ्रारेड लाइटमा आकासमा हेर्न सकिने व्यवस्था गरिएको छ । यसले विगतका वेधशालाहरूले भन्दा अन्तरिक्षमा टाढासम्म हेर्न सक्ने क्षमता राखेको छ । फलस्वरुप अब १३ अर्ब ५० करोड वर्ष अघिका ब्रम्हान्डिय गतिविधिहरूलाई पनि पत्ता लाउन सकिने भएको छ । खगोलशास्त्रीहरूले अब यसको अत्याधुनिक प्रविधिहरु प्रयोग गरेर कतै प्राणीको संकेत देखिन्छन् कि भनेर टाढाका ग्रहका वायुमण्डलको पनि अध्ययन गर्ने आशा लिएका छन् ।

वेवका चारवटा इन्फ्रारेड उपकरणमध्ये एकको सह–नेतृत्व गरिरहेका वेलायती अनुसन्धानकर्ता प्राध्यापक गिलिलयन राइट अहिलेका तस्विरहरू आगामी उपलब्धिका नमुना मात्र भएको र आकासमा नयाँ तरिकाले हेर्दा हामीले आशा नै नगरेका चिजहरू देख्ने बताएका छन् ।  -बीबीसी