नयाँ दिल्लीः भारतको सर्वोच्च अदालतले चर्चित व्यापारी विजय माल्ल्यालाई उनको एयरलाइन धराशायी भएको विषयसँग सम्बन्धित अदालतको न्यायको अवज्ञा गरेको कारण चार महिना लामो कारावास सजाय सुनाएको छ । 

यसअघि भारतले पूर्व अर्बपति माल्ल्यालाई विदेशबाट सपुर्दगी गराउने प्रयास गरेको थियो । उनी अझै पनि बेलायतको राजधानी लन्डनमा रहेको विश्वास गरिएको छ । उड्डयन र फर्मुला १ कार रेसिङमा हात हाल्नुअघि उनले ’किङ्गफिसर’ ब्रान्डको बियर बेचेर आफ्नो भाग्य चम्काएका थिए । एक दशकअघि टाट पल्टिनुभन्दा पहिले भारतमा उनको किङ्गफिसर एयरलायन्स आन्तरिक उडानमा दोस्रो सबैभन्दा ठूलो उडानको रूपमा स्थापित थियो । 

सोमबार सर्वोच्चले उनले ऋण तिर्न नसकेपछि आफ्नो सम्पत्ति विवरण खुलाउन नसकेको र अदालतको आदेशको अवज्ञा गरेकोमा उनी दोषी ठहर भएको जनाएको हो । सन् २०१७ मा पनि उनले किङ्गफिसर एयरलायन्सलाई ऋण तिर्न बाँकी रहेकै अवस्थामा आफ्ना सन्तानका नाममा ४ करोड अमेरिकी डलर हस्तान्तरण गरेर यस्तै अपराध गरेको अदालतको भनाइ छ । विलासितापूर्ण जीवनशैलिका कारण ’राम्रो समयका राजा’को उपनामले पनि चिनिने उनले वेलायतमा सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडेका छन् । त्यहाँ उनले जालसाजी जस्ता अभियोगहरू पनि खेपिरहेका छन् । 

एक अर्ब डलर भन्दा बढी ऋण तिर्न बाँकी रहेको अवस्थामा सन् २०१६ मा भारत छाडेका उनले  आफू नभागेको अडान लिएका थिए ।  सन् २०१८ को उत्तरार्धमा लन्डनस्थित एक अदालतले उनलाई सजाय भोग्नका लागि भारतमा सुपुर्दगी गर्न सकिने निर्णय दिएको थियो । उनले सो निर्णय विरुद्ध गरेको अन्तिम अपिल पनि लन्डनको उच्च अदालतले अस्वीकार गरेको थियो । तर अझै पनि उनी लन्डनमै रहेको विश्वास गरिएको छ । उनलाई किङ्गफिसर एयरलायन्समा थुप्रै आर्थिक अनियमितता गरेको पनि अभियोग लगाइएको छ । पाइलट र क्याविन क्रूलाई १५ महिनादेखि तलब दिन नसकेको स्थितिमा सन् २०१२ का २० अक्टोबर देखि किङ्गफिसरले आफ्नो उडान कार्य रोकेको थियो । -बीबीसीबाट