वासिङटनः अमेरिकाको ओहाइयो राज्यमा एकजना पुरुषलाई दश वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग लगाइएको छ ।

पीडित बालिका बसेको राज्यमा गर्भपतन प्रतिबन्धित भएकाले उनले बलात्कारको कारण बस्न गएको गर्भ पतन गर्न राज्यको सिमाना पार गर्नुपर्ने भएको छ । अरोपित २७ वर्षीय गेर्सोन फुएन्टेसलाई बुधवार कोलम्बसस्थित एक अदालतमा उपस्थित गराइएको थियो । परिचय गोप्य नै राखिएका पीडित दश वर्षीया बालिकाको पीडाले अन्तर्राष्ट्रिय ध्यान तानेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस घटनालाई उद्धृत गर्दै गर्भपतन माथि लगाइएको बन्देजको आलोचना गरेका छन् । तर, शंका गर्नेहरूले भने कतै यो घटना आफै नक्कली त होइन भनेर प्रश्न गरेका छन् ।

गत जुनमा अमेरिकाको सर्वोच्च अदालतले गरेको गर्भपतन सम्बन्धी निर्णयपछि अमेरिकाका लाखौँ महिला र बालिकाले गर्भपतन गर्न पाउने लामो समयदेखिको आफ्नो संवैधानिक अधिकार गुमाएका छन् । शुक्रवार भाषण गर्ने क्रममा राष्ट्रपति बाइडेनले ती बालिकाको घटनाको प्रसंग उठाउँदै सर्वोच्चको निर्णयको आलोचना गरे । उनले आक्रोशित हुँदै भने, “ती पीडित बालिका आफैँ भएको कल्पना गरेर हेर्नुहोस् ।” सर्वोच्च अदालतको सो निर्णय लगत्तै ओहाइयो राज्यका विधायकहरूले गर्भधारण गरेको छ साता पछि गर्भपतन गर्न नपाउने र यसबाट बलात्कार वा अनाचार पीडित महिलाले पनि छुट नपाउने कानुन पारित गरेका थिए । इन्डियापोलिस स्टार अखबारका अनुसार ती बालिकाको गर्भमा छ साता तीन दिनकौ भ्रुण रहेको छ ।

वकिलहरूले ती बालिका नौ वर्षकी छँदै उनीमाथि बलात्कार भएको हुनुपर्ने बताउँछन् । इन्डिस्टारका अनुसार पीडित बालिकाले प्रहरीसमक्ष आफूलाई फुएन्टेसले बलात्कार गरेको बयान दिएकी थिइन् । मंगलबार कोलम्बसस्थित आफ्नै निवासबाट पक्राउ परेका फुएन्टेसले बलात्कार गरेको स्वीकारेको कोलम्बस डिस्प्याचले जनाएको छ । इन्डियापोलिसको एउटा गर्भपतन क्लिनिकमा आरोपितको ¥यालको डीएनए परीक्षण गरिएको छ ।

ग्वोटमालाका नागरिक फुएन्टेस अवैध तरिकाले अमेरिकामा बसोबास गर्दै आएको बुझिएको छ । उनी भाग्न सक्ने वा उनले बालिकालाई हानी पु¥याउन सक्ने खतरालाई मध्यनजर राख्दै फ्रान्कलिन काउन्टी महानगर अदालतका न्यायाधीश सिन्थिया एव्नरले २० लाख अमेरिकी डलरबराबरको जमानत तोक्दै उनलाई प्रहरी हिरासतमा राख्ने आदेश दिएकी छन् । अभियोग प्रमाणित भएमा उनलाई अधिकतम आजीवन कैद सजाय हुनेछ । -बीबीसीबाट