इटहरीः सर्वोच्च अदालतबाट सफाइ पाएका इटहरी काङ्ग्रेसका सभापति हेमकर्ण पौडेलले न्याय पाएको अनुभूति भएको बताएका छन् । प्रदेश पोर्टललाई प्रतिक्रिया दिँदै पौडेलले राजनीतिक ग्राउण्डमा बनेको मुद्दा भएको भन्दै आफूलाई फसाउन मात्र खोजिएको टिप्पणी गरेका छन् ।
‘यो बिलकुल झुटो मुद्दा थियो’, उनले भने, ‘सर्वोच्चको बेन्चमा बौद्धिक व्यक्तिहरू परेकाले न्याय पाएँ ।’
३ वर्ष कैद सजाय सुनाइएका पौडेललाई प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले सफाइ दिएको हो ।
उनले २०६९ सालमा इटहरीका दुर्गा अधिकारीलाई अपहरण गरी शरीर बन्धक बनाएको भन्नेबारेमा जिल्ला अदालत सुनसरीले साढे ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो । जिल्ला तथा पुनरावेदन अदालतको आदेशलाई उल्ट्याउँदै सर्वाेच्चले यस्तो आदेश गरेको हो ।
सोही मुद्दामा सूर्य राई, अचित श्रेष्ठ र रोशन तामाङले पनि सफाइ पाएका छन् ।