गुवाहाटीः दुलहा–दुलहीबीच सामान्यतया गम्भीर विषयमा सहमति हुने गर्छन् । तर, निकै अस्वाभाविक विषयमा आधारित एउटा सम्झौतामा एक भारतीय नव विवाहित दम्पतीले हस्ताक्षर गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यति मात्र होइन, यस समाचारले अखबारमा पनि ठूलो प्राथमिकता पाइरहेको छ । 

तर, यो जोडीका साथीहरूले रमाइलोका लागि ‘यो गर्नुहुन्छ र त्यो गर्न पाइन्न’ भनेर तयार गरेको सूची कानुनी रूपमा बाध्यकारी भने छैन । 

विवाह कार्यक्रम सकिएको भोलिपल्ट अर्थात् गत २२ जुनमा इन्स्टाग्राममा अपलोड गरिएको १६ सेकेन्डको दुलहा र दुलहीले एउटा कागजमा हस्ताक्षर गरिरहेको यो भिडियो अहिले ४ करोड ५० लाख भन्दा धेरै पल्ट हेरिइसकेको छ । 

विगतमा पनि विवाहको क्रममा दुलहा र दुलही पक्षका साथीभाइले यस्ता सम्झौता पत्रहरू बनाउने गरेका खबरहरू सार्वजनिक नहुने गरेका हैनन् । तर, यसपालि भने यो सम्झौतामा उल्लेखित बुँदा ‘महिनामा मात्र एउटै पिज्जा’ले अधिकांशको ध्यान तानेको हो । 

पिज्जा भनेपछि हुरुक्कै हुने गरेकी २४ वर्षीया दुलही ‘शान्ति प्रसाद’समक्ष यो सर्त राखिएको हो । 

उनको आफ्नो कलेजका प्रेमी मिन्टु राइसँग उत्तरपूर्वी राज्य आसामको गुहाटीमा परम्परागत ढंगले विवाह सम्पन्न भएको हो ।

पाँच वर्ष पहिले कमर्स पढ्ने क्रममा कलेजमा भेटेका यस जोडीलाई व्हाट्स अप एपले अझै नजिक ल्याएको हो । सन् २०१८ को फेब्रुअरीमा पहिलो पटक उनीहरूको डेटिङ भएको थियो । गुहाटीमा विद्युतीय सामानको पसल भएका मिन्टुले उनकी प्रेमिकालाई पहिलो डेटिङमै नजिकैको एउटा पिज्जा आउटलेटमा लगेका थिए । -बीबीसीबाट