इटहरीः पानी पर्नुपर्ने समयमा पानी नपरी ‘मनसुन ब्रेक’ हुँदा किसान प्रभावित भएका छन् ।

असारको अन्तिम हप्तासम्ममा धेरैजसो खेतियोग्य जमिनमा रोपाइँ भइसक्नुपर्नेमा पानी नपरेर बिउ डढेपछि रोपाइ हुन नसकेको हो । असार अन्तिम साता रोपाइँ गर्न भनेर बीऊ काढेर ठिक्क परेका सयौँ किसान यतिबेला घामले बिउ डढाएपछि चिन्तामा छन् । धान रोप्ने बेलामै पानी पर्न रोकिएपछि प्रदेश १ सहित देशका विभिन्न ठाउँमा धान रोपाइँ प्रभावित भएको हो  । असारको अन्तिममा आएर पानी पर्न छोडेपछि त्यसको असर अहिले किसानको घरदेखि भोलि सबैका घरसम्मै पुग्ने भएको छ । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार साउन महिनाको १ गतेसम्म प्रदेश १ मा थुप्रै खेतमा धान रोपाइँ हुन बाँकी नै छ । 

धान खेतिको ‘हब’ मानिने प्रदेश एक र मधेश प्रदेशका खेतमा यस वर्ष असारमा गत वर्षभन्दा ११ प्रतिशत कम मात्रामा रोपाइँ भएको छ । देशभर कुल ९ लाख ७० हजार ४८४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जबकि अघिल्लो वर्षको साही अवधिमा  ११ लाख २२ हजार ८०७ हेक्टर क्षेत्रफल (७६ प्रतिशत) मा रोपाइँ भएको थियो । ‘मनसुन ब्रेक’ हुँदा पानी नपरेर प्रदेश १ र मधेश प्रदेशका खेतमा धेरै रोपाइँ हुन नसकेको बताइन्छ । कृषि विभागका अनुसार असार मसान्तसम्म मधेश प्रदेशमा ५७ र प्रदेश १ मा ४९ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेश एकमा ३ लाख ४० हजार ८२९ हेक्टर र मधेश प्रदेशमा ४ लाख ५ हजार ४५० हेक्टर धान रोपाइँयोग्य जमिन छ । ‘रोपाइँ कम हुनुको कारण पानी नै हो । मनसुन भोलि मंगलबारबाट सक्रिय हुने आँकलन मौसम विभागले गरेको छ ।