इटहरीः सप्तकोसीको पानी ल्याएर धराने जनतालाई पिलाउने चर्चा चलिरहँदा बुधबार भने धरानमा तमोर नदीको पानी ल्याउने नयाँ विषयले चर्चा पाएको छ । 

सुनसरी उद्योग वाणिज्य संघ सुनसरीले धरानमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा धरान–लेउती सुरुङ मार्गको चर्चा चल्यो भने सुरुङ्ग मार्ग बनाउन सके धरानलाई आवश्यक पर्ने पानी तमोर नदीबाट सोही सुरुङ्ग मार्गको बाटो हुँदै ल्याउन सकिने कुरासमेत उठेको छ । 

सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरोज श्रेष्ठले सुरुङ्ग मार्ग बन्न्नु धरानको खानेपानीको समस्या समाधानको लागि नयाँ बाटोसमेत हुने विषय छलफलमा प्रवेश गराए । धरान लेउती सुरुङ्ग मार्ग समयमा बनाउन सके धरानको गुमेको व्यावसायिक साख पुनः फर्किने श्रेष्ठको भनाइ थियो ।  

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार धरान–धनकुटा सडकखण्डमा बन्ने सुरुङ्ग मार्ग ३.८६ किलोमिटर लामो हुने र १० अर्ब ६३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । सुरुङ्ग मार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन २०७९ असार अन्तिममा सार्वजनिक भएको हो ।

धरानको खर्दु र लेउतीमा मुख्य प्रवेशद्वार रहने सो सुरुङ्ग मार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन हुने क्रममा छ । सुरुङ्ग मार्ग बनाउन सके तमोर तथा लेउतीको पानी धरान ल्याएर धरानवासीलाई खुवाउन सकिने र इटहरीदेखि दुहबीसम्मका  बासिन्दालाई समेत बिक्री गर्न सकिने अध्येताहरु बताउँछन् ।