काठमाडौँः युरोपेली आयोगले युरोपेली देशहरूलाई ग्यासको प्रयोग १५ प्रतिशतसम्म कटौती गर्न आग्रह गरेको छ ।

रुसी ग्यास आपूर्ति रोकिन सक्ने चिन्ताबीच आयोगले त्यस क्षेत्रका देशहरूलाई अगस्टदेखि मार्चसम्म ग्यासको प्रयोग कम गर्न आग्रह गरेको हो । आयोगले यो लक्ष्य स्वेच्छिक भएको तर, यो ग्रीष्म ऋतुमा मस्कोले ग्यास आपूर्तिमा रोक लगाए कानुनी रूपमा बाध्यकारी हुने बताएको छ । मर्मतसम्भार गर्न १० दिनका लागि बन्द गरिएको रुस देखि जर्मनीसम्मको नोर्ड स्ट्रिम १ पाइपलाईन बिहीबारदेखि पुनः सञ्चालन हुँदैछ । तर, मस्कोले आफ्नो वाचा पालना गर्दैन कि भन्ने चिन्ताहरू व्याप्त छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बुधबारको भनाइले थप अनिश्चितता पैदा गरेको छ ।

उनले क्यानडामा मर्मतपछि कुन अवस्थामा पाइपलाइनबाट टर्बाइन फिर्ता हुन्छ भन्ने स्पष्ट नभएको बताएका थिए । ‘कुनै बिन्दु’मा उपकरणहरू बन्द गर्नुपर्ने र नोर्ड स्ट्रिम १ बन्द हुने जोखिम रहेको उनको भनाइ थियो । रुसले गत वर्ष युरोपलाई आफ्नो प्राकृति ग्यासको ४० प्रतिशत आपूर्ति गरेको थियो । जर्मनी रुसी ग्यासको सबैभन्दा ठूलो आयातकर्ता हो । उसलाई इटलीले पछ्याएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेनले युरोपव्यापी कटौती हुन सक्ने ‘सम्भावित परिदृश्य’ भएको बताएकी छन् । रुसले आफूहरूलाई ‘ब्ल्याकमेल’ गर्दै उर्जालाई हतियारको रूपमा प्रयोग गरेको उनको भनाइ छ ।

“रुसले हामीलाई ब्ल्याकमेल गरिरहेको छ । रुसले उर्जालाई हतियारको रूपमा प्रयोग गरिरहेको छ, उनले भनिन्, “त्यसैले, कुनै पनि घटनामा, चाहे यो रुसी ग्यासको आंशिक, ठूलो कटौती होस् वा रुसी ग्यासको पूर्ण कटौती, युरोप तयार हुन आवश्यक छ ।”रुसले युक्रेनमा आक्रमण गरेदेखि पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स्, डेनमार्क र फिनल्यान्ड लगायत रुबलमा ग्यासको भुक्तानीको मागलाई अस्वीकार गर्ने धेरै देशहरूमा आपूर्ति कटौती गरेको छ । युरोपेली संघका देशहरूका लागि हिउँदअघि भण्डार गर्न अझ गाह्रो बनाउन आपूर्ति घटाएको आरोप पनि लगाइएको छ । -बीबीसीबाट