इटहरीः सुनसरीको इनरुवा नगरपालिकाले ५७ जना करार कर्मचारी निकालेपछि आन्दोलनमा उत्रिएका कर्मचारीले नगरपालिकाका १० वटा वडामा काम ठप्प पारेपछि बिहीबार बसेको कार्यपालिका बैठकले करारमा रहेका बाँकी कर्मचारीको म्याद ३ महिना मात्र थप गर्ने निर्णय गरेको छ ।

इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले १६७ जना करारका कर्मचारीमध्ये ५७ जनाको करार नवीकरण नगर्ने निर्णय गरेको छ । बाँकी रहेका करार कर्मचारीको पनि ३ महिना मात्र म्याद थप गर्ने भएको छ ।

कार्यालयका लागि आवश्यक कर्मचारी लोकसेवा आयोगमार्फत् पदपूर्ति गरिने मेयर केदार भण्डारीले बताएका छन् । पार्टीगत आस्थाका आधारमा मेयरले आफ्ना मान्छे राखेर बाँकीलाई मात्र निकालेको भन्दै विरोध भइरहेको थियो भने निकालिएका कर्मचारीले नगरपालिकाका दश वटा वडा कार्यलयमा काम नै ठप्प पारेका थिए ।