इटहरीः लिम्बूवान किराँतसम्बद्ध विभिन्न ३५ वटा संगठनहरुले प्रदेश १ को नाम लिम्बूवान किराँत राख्न माग गर्दै बिहीबार प्रदर्शन गरेका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि प्रदेश १ को नाम लिम्बूवान किराँत हुनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदेश १ का विभिन्न जिल्लाबाट आएका आन्दोलनकारीहरुले पहिचानको आधारमा प्रदेशको नाम लिम्बुवान किराँत हुनुपर्ने भन्दै निकै पहिलेदेखि आन्दोलन गर्दै आएका थिए । उनीहरुको घोषित आन्दोलनको कार्यक्रमअनुसार बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।
प्रदेश १ को नामकरणका लागि भोलि शुक्रबार हुने भनिएको सर्वदलीय छलफल सर्वपक्षीय हुनुपर्ने माग पनि प्रदर्शनकारीले गरेका छन् । प्रदर्शनपछि लिम्बूवान किराँतका अभियान्ताहरुले मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशको नाममा लिम्बूवान नजोडिए ८ प्रदेशको माग गर्दै फरक तरिकाले आन्दोलन गर्ने बताएका थिए ।
संघर्ष समितिका संयोजक प्रेम याक्थुमले आफूहरुको आन्दोलनलाई बेवास्ता नगर्न पनि मुख्यमन्त्रीलाई आग्रह गरे । मुख्यमन्त्री राईले भने आफू पनि पहिचान पक्षधर भएको भन्दै खराब नाम आउने अवस्थामा आफूले पनि कदम चाल्ने बताए ।