इटहरीः प्रदेश नम्बर १ प्रहरीले एक वर्षको अवधिमा ३९ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको छ । 

आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश प्रहरी कार्यलय विराटनगरले आर्थिक वर्ष २०७८÷०७९ मा ३९ करोड २१ लख रुपैयाँ राजश्व संकलन गरेको बताएको छ । प्रहरीले एक वर्षको अवधिमा आठ हजार ५५ वटा मुद्दा दर्ता गराएको छ । 

१४ जिल्ला कार्यालयमा आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार छली, चोरी निकासी र पैठारी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापन शीर्षकमा दर्ता भएकामध्ये ३ हजार एक सय ७७ वटा मुद्दा फस्र्यौट गरिएको छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार एक वर्षको अवधिमा एक हजार सात सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । जसबाट आठ करोड सात लाख ६ सय ७५ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी, प्रहरीले अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना व्यक्ति पक्राउ गरेको छ भने यस्तो कार्यमा संलग्न व्यक्ति तथा बरामद सामानबाट ११ करोड ७४ लाख ४६ हजार ९ सय २९ रुपैयाँ राजश्व संकलन भएको छ । 

प्रहरीले नदीजन्य वस्तुको अवैध दोहन रोक्ने क्रममा ३७ जना व्यक्ति तथा ६ सय ४५ सवारीसाधन नियन्त्रणमा लिएको छ जसबाट सरकारलाई  ३३ लाख ३१ हजार ५०० राजश्व प्राप्त भएको छ ।

 अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना व्यक्ति नियन्त्रणमा लिनुका साथै ४ हजार ६४८ क्यू.फिट.काठ बरामद गरिएको छ । प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति र जिन्सीबाट एक करोड चार लाख पाँच सय ३७ रुपिँया राजश्व संकलन भएको जनाइएको छ ।

प्रदेश १ का १४ जिल्लामा ट्राफिक व्यवस्थापन तथा कारबाहीका क्रममा  दुई लाख ६९ हजार आठ २३ वटा सवारीसाधान कारवाहीमा परेका छन् । एक वर्षको अवधिमा कारबाहीबाट १८ करोड १ लाख ५९ हजार राजश्व संकलन भएको छ ।