महोत्तरीः महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा हत्या आरोपमा एक जना पक्राउ परेका छन् । उनले आफ्नै काकाको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले काका ६० वर्षीय रामबहादुर दासलाई कोदालो प्रहार गरी हत्या गरेका हुन् । बिहीबार खेतमा काम गरेर घरभन्दा दुई सय मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालोले प्रहार गरेका थिए ।

उनले काका रामबहादुरको टाउकामा प्रहार गर्नासाथ रामबहादुरको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले घटनाबारे अबेर साँझ जानकारी पाएपछि शवको मुचुल्का गरी परीक्षणका लागि गए राति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याएको छ । काका हत्या गर्ने भतिजालाई पनि घरैबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । -रासस