चितवनः पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु २ ख ३५०२ नम्मबरको माइक्रो विङ्गर एकआपसमा ठोक्किएका थिए । \

विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५–३६ वर्षका एक पुरुष दुर्घटनामा घाइते भएको र नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुवै सवारी साधनका गरी अन्य १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये विङ्गर चालक रुपन्देहीको बुटवल नगरपालिका–२ का २५ वर्षीय कमल दर्जीको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये पाँच जनाको नयाँ मेडिकल कलेज भरतपुर र १२ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । -रासस