इटहरीः देशको एक मात्र बेनामे प्रदेशको रुपमा चिनिएको प्रदेश १ को संसदमा प्रतिनिधित्व गर्ने सबै दलको बैठक आज विराटनगरमा बस्ने भएको छ ।
प्रदेश १ प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा प्रदेशको नामकरणको टुङ्गो लगाउन बैठक बस्न लागेको हो । गत हप्ता पनि प्रदेश नामकरणको विषयमै बैठक बसेको भएपनि बिनानिस्कर्ष टुङ्गिएको थियो । आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ ।
यद्यपि, अहिलेसम्म प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा दलहरुका आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोसी प्रदेश, कांग्रेसले सप्तकोसी, माओवादीले किरात–लिम्बूवान–कोचिला र नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् । सर्वदलीय बैठक दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा बस्ने बताइएको छ ।