इटहरीः मोरङको विराटनगर महानगरपालिका–१८ बुधनगरबाट अवैध रुपमा भारततर्फ निकासी गर्न लागिएको आठ ट्रक सुपारी प्रहरीले बिहीबार राति नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले सुपारी लोड गरिएको युपी ४५ टी १६२४, एमपी ०९ एचजी ८३२०, एमपी २२ एच १०३१, युपी ५० बिटी ७२७७, युपी ६२ बिटी ८१२१, युपी ५४ टी ६४२९, युपी ५० एटी ३१५८ र युपी ६२ सिटी ०६२७ नम्बरका ट्रक नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईका अनुसार ती ट्रकबाट दुई हजार छ सय ७८ बोरा सुपारी बरामद भएको छ ।

जम्मा सुपारी दुई लाख १९ हजार पाँच सय ९६ किलोग्राम छ । सो सुपारीको कुल मूल्य पाँच करोड ३९ लाख ८८ हजार चार सय ८० भारतीय रुपैयाँ पर्ने प्रहरीको भनाइ छ । सुपारीका धनी भने पक्राउ नपरेको बताउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।