इटहरीः झापाको मेची भन्सार कार्यालयबाट एक करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको राजश्व चुहावट भएको छ ।

भारतबाट आयात हुने विभिन्न सामानको न्यून मूल्याङ्कन र फरक शीर्षक देखाउँदा सरकारी कोषको राजश्व गुमेको भन्दै महालेखापरीक्षकको कार्यालयले सम्बन्धित व्यापारीबाट उक्त राजश्व असुलउपर गर्न भन्सार कार्यालयलाई निर्देशन दिएको छ । दाना आयातकर्ता व्यापारीहरुले मेची भन्सार कार्यालय र सुख्खा बन्दरगाहबाट न्यून मूल्याङ्कन गराई आयात गर्दा ८२ लाख ११ रुपैयाँ राजश्व चुहावट भएको जनाउँदै मलेपले सो रकम असुल गर्न निर्देशन दिएको हो । 

यसैगरी गत आर्थिक वर्षमा भटमासको आयातमा अस्वभाविक रुपमा ५० प्रतिशत राजश्व छुट दिइएको मलेपको प्रतिवेदनमा उल्लेख छ । पोटेटो क्र्याकर आयात गर्दा न्यून मूल्याङ्कन गरिएकाले क्षति हुन गएको ५२ लाख २४ हजार रुपैयाँ पनि आयातकर्ताबाट असुलउपर गर्न मलेपले मेची भन्सारलाई भनेको छ । भन्सारले नपकाएको पास्तामा ४० प्रतिशत भन्सार महसुल प्रतिकिलो रु १७ का दरले हुने अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाई जाँचपास गर्नुपर्नेमा सो नगरी भन्सार दर मूल्य अभिवृद्धि कर दुवैमा गैरकानूनी छुट दिइएको मलेपको ठहर छ ।

पूर्वी नाका भएर पैठारीकर्ताले फलाम वा स्पातका पाइपजस्ता मालवस्तुमा कुनै पनि सुविधा उपलब्ध नगराई महसुल असुल गरिनुपर्नेमा प्रज्ञानपत्रबाट जाँचपास गर्दा राजस्वमा छली भएको रु ३१ लाख ५९ हजार दाखिला गर्नुपर्ने देखिएको छ । क्लोजिङ, बोटलिङ र ¥यापिङ मेसिनको समेत वर्गीकरण गरी पाँच प्रतिशत भन्सार महसुल असुल गर्नुपर्नेमा फरक भन्सारबाट जाँचपास गर्दा छुट भएको भन्सार महसुल तथा मूल्य अभिवृद्धि करसमेत रु २१ लाख ८६ हजार राजस्व भन्सारमा दाखिला गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीले कतिपय पैठारीकर्ताले स्वीकृति नलिइदिने, कतिपयले एउटा शीर्षकबाट लैजानुपर्नेमा अर्कै शीर्षकबाट लगिदिने कारणले महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको जिकिर गरे ।