इटहरीः फेसबुकमा चिनजान भएका साथीलाई विश्वास गर्दा सुनसरीको इटहरी घर भएकी एक युवती बलात्कारको शिकार भएकी छन् ।
फेसबुकबाट चिनजान बनाएका नुवाकोट घर भई काठमाडौँमा व्यवसाय गरी बस्दै आएका मधुसुदन पाण्डे र उनकै साथमा रहेका अर्का एक व्यक्तिले घुमफिरका लागि युवतीलाई चितवन बोलाई त्यहाँबाट पोखरा लगी असार २२ गते बलात्कार गरेका हुन् । चार जनाको समूहसँग घुमफिरमा निस्किएकी युवतीले चारमध्ये दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
पोखराको एक होटलमा आफूसहित पाँचै जना बास बसेकोमा दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै युवतीले काठमाडौँस्थित प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएपछि प्रहरीले असार २५ गते अभियुक्त मध्येका एक मधुसुदनलाई काठमाडौँको बालाजुबाट पक्राउ गरेको हो ।
अर्का एक अभियुक्त र उनीहरुका दुई साथी अझै फरार रहेकाले उनीहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुन्दर तिवारीले जानकारी दिए । बलात्कार दुई जनाले मात्र गरेको भएपनि आफूमाथि अन्य दुई जनाले पनि यौन दुव्र्यवहार गरेको उजुरी युवतीले दिएकाले प्रहरीले उनीहरुको पनि खोजी सुरु गरेको हो ।