इटहरीः प्रहरीको जवाफी कारवाहीमा सुनसरीको कोशी गाउँपालिकामा एक अज्ञात व्यक्तिको ज्यान गएको छ । सुनसरी प्रहरीका अनुसार आइतबार राति पौने १० बजेको समयमा प्रहरी गस्तीमाथि फायरिङ भएको थियो ।
पूर्व पश्चिम राजमार्गभन्दा करिव ३ किलोमिटर दक्षिण मुसहरी टोल नजिक घटना भएको थियो । घटनामा मृत्यु हुने तराई मूलका जस्तो देखिने अन्दाजी ३५ वर्षका व्यक्ति रहेको एसपी राजन अधिकारीले जानकारी दिएका छन । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन । घटना नेपाल– भारत सीमाभन्दा लगभग ३ सय मिटर उत्तरतर्फ भएको हो ।
एसपी अधिकारीका अनुसार तस्करहरूले प्रयोग गर्ने सो रुटमा राति करिब ५ जना हतियारधारी जस्ता देखिने व्यक्तिलाई प्रहरीले रोक्न खोज्दा एक्कासी प्रहरीमाथि फायरिङ भएको हो । प्रहरीको जवाफ कारवाहीमा ती व्यक्तिको कुम, ढाड र पेटमा गोली लागेको छ । उनलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको छ ।
एसपी अधिकारीले मृतकको साथबाट गोली लोड भएको पेस्तोल फेला परेको पुष्टि गरेका छन् । मृतकको नजिकैबाट अर्को पनि लोडेड कटुवा पेस्तोल बरामद भएको उनले जानकारी दिएका छन् ।
घटनाको थप अनुसन्धान जारी रहेको भन्दै मृतकको पहिचान गर्ने काम भइरहेको अधिकारीले जानकारी दिएका छन् ।