इटहरीः करारका कर्मचारीको म्याद नथप्ने भन्दै ठूलो संख्यामा करारका कर्मचारी हटाएको इनरुवा नगरपालिकाले स्थायी कर्मचारीलाई समेत सेवाबाट हटाएर केही करारका कर्मचारीको म्याद भने थप गरिदिएको पाइएको छ ।
लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीलाई आयोगले अर्को कर्मचारी नपठाएसम्म हटाउन नपाइने व्यवस्थाविपरीत नगरपालिकाले हटाएको करार अवधि नवीकरण नगरी बिदा गरिएका कम्प्युटर अपरेटर कमल परियारले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ को उपदफा (७) तथा स्थानीय तहमा सेवा प्रवाहसम्बन्धी व्यवस्थाको दफा १५ (४) बमोजिम प्राविधिक कर्मचारी करारमा राख्ने कार्यविधिअनुसार नियुक्त कर्मचारीलाई कानूनविपरीत नगरपालिकाले हटाएको हो ।
इनरुवा नगरपालिकाले लोक सेवा आयोग धनकुटा मार्फत् मिति २०७५ फागुन २८ गते निकालेको सूचनाअनुसार सञ्चालित लिखित परीक्षाको परीक्षाफल २०७६ माघ २६ गते प्रकाशन भएको थियो । लोक सेवा आयोगको परीक्षा पास गरेको भएपनि आफूलाई सेवाबाट हटाइएको नगरपालिकामा अमित पदमा काम गरेका दयानन्द साहले बताए । उनका अनुसार लोकसेवा आयोगको परीक्षामा असफल भएकामध्ये अजय देव, सभ्यता निरौला, प्रेमचन्द्र ढुङ्गेल, गणेशकुमार पोखरेल, पुष्पा निरौला खरेल, रामप्रकाश यादव र रेखाकुमारी मेहताको करार अवधि भने नगरपालिकाले थप गरेको छ ।