धरानः नेपाली कांग्रेस धरान उपमहानगरपािलका समितिले शान्ति सुरक्षा कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार समितिले आपराधिक क्रियाकलाप बढेको भन्दै इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानमा ज्ञापनपत्र बुझाएको कांग्रेस धरानका सभापति श्याम पोखरेलले जानकारी दिए । धरानमा दिन दहाडै भइरहेको आपराधिक घटनाले त्रास सृजना भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा धरान १६ मा सांघातिक हमला र सोही दिन धरान २० मा गोली चलेको घटनाले असुरक्षाको स्थिति प्रमाणित भएको उल्लेख गरिएको छ ।
कांग्रेसले ती घटनाहरु कांग्रेसका नेता तथा कार्यकर्तातर्फ लक्षित भएको पनि जनाएको छ । साथै कांग्रेसले आपराधिक घटनाहरुलाई निरुत्साहित गर्न र जनताको मौलिक अधिकार उच्च सम्मानका साथ स्थापित गराउन पनि माग गरेको हो । कांग्रेसले धरानलाई आपराधिक क्रियाकलापबाट मुक्त गर्न हातेमालो गर्न सदैव तयार रहेको जनाउँदै शान्ति सुरक्षा र अमनचयन कायम राख्न पनि माग गरेको छ ।