इटहरीः झापाको कमल गाउँपालिका–१ पुतली चोकमा स्कुटरको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०१–१३ प ४३४२ नम्बरको स्कुटरले ठक्कर दिँदा सोही दिशातर्फ जाँदै गरेकी ७० वर्षीया मनमाया बाँस्कोटाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी वृद्धालाई उपचारार्थ बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा साँझ करिब ५ः०० बजे उनको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक कमल गाउँपालिका–२ का ३९ वर्षीय कृष्णबहादुर भण्डारी पनि सामान्य घाइते भएकाले उनलाई उपचारार्थ प्रहरीको निगरानीमा अस्पताल पठाई घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।