इटहरीः सुनसरीको रामधुनी नगरपालिका–७ इचौलस्थित चतरा–कान्छी चोक सडकखण्डमा गएराति मोटरसाइकल भैँसीसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ का १८ वर्षीय कृष्ण चौधरी रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ७९४ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे भैँसीसँग ठोक्किँदा चालक चौधरी घाइते भएका थिए ।

उनलाई उपचारार्थ विराटनगरस्थित विराट नर्सिङ होम लगिएकोमा उपचारका क्रममा मृत्यु भएको डीएसपी तिम्सिनाको भनाइ छ । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार २० वर्षीय विवेक चौधरीसमेत घाइते भएकोमा उनको सोही अस्पतालमा उपचार जारी रहेको डीएसपी तिम्सिनाले उल्लेख गरे । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।