इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका २० वर्षीय रोयल राई रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार शनिबार दिउँसो पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुकुना माध्यमिक विद्यालयअगाडि राईले चलाएको को ३७ प १४३५ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३२३० नम्बरको यात्रुबहाक बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट पश्चिमतर्फ आइरहेका राई घाइते भएकोमा उनलाई उपचारार्थ विराटनगरस्थित कोसी अस्पताल पुर्याउनासाथ चिकित्सकले दिउँसो ३ः३० बजे मृत घोषित गरिदिएका थिए । मोटरसाइकलले ट्रकलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।