इटहरीः सर्लाहीको पर्सा गाउँपालिका १ मा एक महिलाको हत्या गरेको आरोपमा मृतकका श्रीमान्, देवर र ससुरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मृतक २० वर्षीया निशा यादवका श्रीमान बालदत भनिने रमजेशकुमार यादव, देवर राजु र ससुरा रामप्रताप रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) विजय यादवका अनुसार निशा हराएको भन्दै खोजीका लागि उनका बुवा कैलाश रायले असार २२ गते निवेदन दिएकोमा असार २४ गते अभियुक्त ससुराले पनि खोजीका लागि निवेदन दिएका थिए ।

उजुरीउपर कारबाही चलाउँदै खोजी सुरु गरेको प्रहरीले अनुसन्धान गर्दै जाँदा श्रीमान, देवर र ससुराले नै घरदेखि चार किलोमिटर पर आफ्नै जग्गामा गाडेको अवस्थामा निशाको शव साउन ६ गते फेला पारेको हो । तीनै जना अभियुक्तहरुलाई कर्तव्य ज्यान अभियोगमा कारबाहीका लागि जिल्ला अदालतबाट म्याद लिई हिरासतमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।