झापाः झापाको केचनाकवल ५ स्थित चिया बगानमा काम गर्ने तीन किशोरीको शव सोही ठाउँमा रहेको बयरको रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ ।

शनिबार दिउँसोदेखि हराएका किशोरीहरु आइतबार बिहान एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सोही चिया बगानमा काम गर्ने किशोरीहरु मृत भेटिएपछि गाउँ नै शोकमा डुबेको छ ।

स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानमा उनीहरुको शव भेटिएको हो । मृतक तीनैजना चिया बगानमा मजदुरी गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेशको शव भेटिएको छ । उनीहरु  दुई जना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

किशोरीहरुले  एक जनाले गाई बाँध्ने दाम्लो, अर्कीले प्लाष्टिकको डोरी र अर्कीले गम्छा प्रयोग गरेर आत्महत्या गरेका छन् । सामूहिक आत्महत्या गर्नुपर्ने कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।