इटहरीः उदयपुरको त्रियुगा नगरपालिका–७ चिसापानीस्थित मदन भण्डारी राजमार्गमा गाउँपालिका अध्यक्ष सवार बोलेरो दुर्घटना हुँदा अध्यक्षसहित दुई जना घाइते भएका छन् ।

प्रदेश ३–०१–०१०२३ च ५८ नम्बरको बोलेरो दुर्घटना हुँदा घाइते हुनेहरुमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनराज राई र बोलेरो चालक सोही गाउँपालिका १ बस्ने ३२ वर्षीय झमक विश्वकर्मा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार घाइते दुवैलाई सामान्य प्राथमिक उपचारपछि थप उपचारका लागि काठमााडौँ पठाइएको छ । बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको भन्दै प्रहरीले विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।