इटहरीः धनकुटा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार दिउँसो ३ः०० बजे अस्थायी प्रहरी पोस्ट बेलहारा धनकुटाबाट खटिएको प्रहरी टोलीले छिन्ताङबाट धरानतर्फ जाँदै गरेको प्रदेश न १–०२–००१ ज ४०७७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा छतमा राखेको बोरामा ४ किलोग्राम गाँजा फेला पारेको थियो । यसरी गाडीमा लागूऔषध गाँजा बरामद भएसँगै चालक शहीदभूमि गाउँपालिका–५ का २१ वर्षीय मनोज परियारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ बाट ठूलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन् । 

अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को. १ ख २९२६ नम्बरको  पिकअपलाई जाँच गर्ने क्रममा ७ बोरा (२०८) केजी गाँजा फेला पारी बरामद गरेको हो । पिकअपमा गाँजा बरामद भएसँगै चालक शहीदभूमि गाउँपालिका–२ धनकुटाका २० वर्षीय तेज राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।