इटहरीः झापा र मोरङका तीन छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजेबाट हराएका झापाको कमल गाउँपालिका–४ बस्ने शंकरदेव श्रेष्ठ शनिबार बिहान माछा पोखरीमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठ मृत फेला परेको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटी गई अनुसन्धान कार्य सुरु गरेको छ । 

त्यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथान बस्ने दिलिप सुतियारका ३ वर्षीय छोरा राहुल सुतियार शनिबार बेलुका ५ बजे घरबाट हराएकोमा आफन्तहरुले घरनजिकै रहेको पोखरीमा डुबेको अवस्थामा फेला पारी तत्काल उद्दार गरी उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यसैगरी, झापाको मेचीनगर नगरपालिका–१२ धाइजनका  ७३ वर्षीय डम्बरबहादुर गुरुङ शनिबार बिहान ९ः०० बजे घर नजिकै खेतमा लडी अचानक टाउको खेतको हिलोमा डुबी मृत्यु भएको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान सुरु गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।