धरानः बराह बचत तथा ऋण सहकारी सँस्थाबाट ठगिएका बचतकर्ता र सेयरधनीले आफ्नो बचत रकम फिर्ता दिलाउन उपमहानगरले पहल नगरेको भन्दै धरान उपमहानगरको कार्यालय घेराउ गरेका छन् ।

आइतबार न्याय दिलाउन माग गर्दै उपमहानगरपालिका घेराउ गर्न पुगेका सयौँ बचतकर्ता तथा सेयरधनीले नाराबाजी गरेका थिए । सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदीप बस्नेतले सम्पूर्ण पीडितहरुलाई न्याय दिलाउन दबाबस्वरुप घेराउ गरेको बताए । उनले भने, ‘पीडितसँगको सम्झौता सहकारीका सञ्चालकले उल्लङ्घन गरेपछि कानूनी रुपमा अघि बढ्न बाध्य भयौँ । सम्झौताविपरीत सहकारीले जायजेथा बिक्री गर्न थालेकाले रोक्काको माग गरेका छौँ ।’ पीडितहरुले आफ्नो पैसा पाउनुपर्ने भन्दै पटकपटक बराह सहकारीमा माग गर्दा पैसा फिर्ता नदिएपछि घेराउ गरेको उनले बताएका छन् ।

प्रवक्ता बस्नेतले उपमहनागरका मेयरलाई आफ्नो समस्या राखेर निवेदन दिएको भए पनि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेकोले आज पुनः नगरपालिका घेराउ गर्नु परेको बताए । मेयर हर्क साम्पाङले विधि र प्रक्रिया अनुसार धरान उपमहानगरपालिका र न्यायिक समितिल ेसमस्याको समाधान खोज्नुपर्ने बताए । पीडित समितिले अबिलम्ब छानबिन समितिको गठन हुनुपर्ने र सहकारी ऐनअन्तर्गत कारबाही गर्न मेयर साम्पाङलाई निवेदनसहित माग गरिएको प्रवक्ताले बस्नेतले बताए ।

धरान उपमहानगरले बराह बचत तथा ऋण सहकारी सँस्थाको छानबिन गर्न ५ सदस्यीय समिति बनाउने भएको छ । छानबिन समितिका संयोजक धरान उपमहनागरका आर्थिक विकास महाशाखाका  वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्मा रहने भएका छन् । .पीडित संघर्ष समितिका प्रवक्ता बस्नेतका अनुसार केन्द्रीय सहकारी विभागका अधिकृत तहका कर्मचारी १ जना, प्रदेश रजिष्टार कार्यालयका अधिकृत तहका कर्मचारी १ जनासहित धरान उपमहानगरका २ जना कर्मचारी हुनेछन् । आमन्त्रित सदस्यमा पीडित संघर्ष समितिका ५ जना मेयर हर्क साम्पाङले माग गरेका छन् । साथै समितिले राष्ट्र बैंक, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि पनि राख्न माग गरेको छ ।