इटहरीः मोरङको विराटनगर महानगरपालिका ९ मा एक वृद्ध महिलाको शव जलेको अवस्थामा फेला परेको छ ।
मृत फेला पर्नेमा सोही ठाउँ बस्ने ६७ वर्षीया अमराउदेवी कोठारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हिजो साँझ ७ः३० बजे मृतक महिलाका पतिको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयबाट परिचालित प्रहरीले कोठामा चुकुल लगाएर मट्टितेल छर्की आगो लगाएको अवस्थामा शव फेला पारेको हो ।
मृत फेला परेकी वृद्धाका पति विजयसिंह कोठारीले प्रहरीलाई घटनाको जानकारी दिएका हुन् । मृतकका पति विजय कोठारीले आफू कामको सिलसिलामा बाहिर रहेकाले घटनाबारे ढिलो जानकारी पाएको बताएका छन् भने परिवारका अन्य सदस्यले माथिल्लो तल्लामा रहेकाले तल्लो तलामा भएको घटनाबारे थाहा नभएको बयान दिएका छन् ।
शवनजिकै मट्टितेलको जर्किन र सलाई प्रहरीले फेला पारेको छ । शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवीनराज राईले जानकारी दिए ।